आर्थिक विकास र समृद्धिका लागि शिक्षामा लगानी गरौँ

लेखक : आर. सी. अधिकारी ओखलढुङ्गा

Photo by: Anish Khatri

आजको २१औँ शताब्दीमा मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्ड नै शिक्षा हो । शिक्षाले मानिसलाई दूरदृष्टि तय गर्दै शिक्षित, सभ्य, सक्षम जनशक्ति, सामाजिक न्याय, रूपान्तरणमार्फत आर्थिक विकास र समृद्धि प्राप्त गर्न मद्दत गर्छ । मुलुकको पहिलो सर्त गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त मात्रामा लगानीको आवश्यकता पर्छ । यसका लागि मुलुकको शिक्षा नीतिमा दीर्घकालीन सोचका साथसाथै दीर्घकालीन लगानी चाहिन्छ । राज्यले शिक्षामा गरेको लगानीले मुलुकमा दिगो विकास, शान्ति, रोजगारीको अवसरमा पहुँच र आर्थिक समृद्धि ल्याउने गर्दछ । कुनै समय नेल्सन मण्डेलाले भन्नुभएको थियो, ‘विश्वलाई परिवर्तन गर्न हामीले उपयोग गर्न सक्ने सबैभन्दा शक्तिशाली हतियार शिक्षा हो ।’ अर्थात्, शिक्षाविनाको जीवन नै अन्धकारमय हुने गर्छ । शिक्षा नै मानिसको आधारभूत आवश्यकता हो । अधिकांश मुलुकले शिक्षामा व्यापक लगानी गरेर वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान, व्यावहारिक र सिपमूलक रोजगारीका माध्यमबाट मात्र मुलुकको स्वरूपमा परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुक जापानले शिक्षालाई उच्च प्राथमिकता दिई कुल बजेटको ६० प्रतिशतसम्म शिक्षामा लगाउँदा अहिले कायापलटको अवस्थामा पुगेको हो । यस्तै दक्षिण कोरिया, भारत,सिंगापुर, चीन, अस्ट्रेलिया, अमेरिका क्यानडा र बेलायत जस्ता देशहरू शिक्षाको लगानीमा उच्च प्राथमिकता दिइएका कारणले नै समृद्ध भएका हुन् । गुणस्तरीय शिक्षा पाएकै कारण आज विश्वमा ठुला-ठुला वैज्ञानिक आविष्कार र चमत्कार भएका छन् । त्यसैले, देश विकासको जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रलाई राज्यले बेवास्ता गरी दक्ष जनशक्तिको कल्पना गर्नु केवल ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै हो ।

हामीकहाँ सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानी पर्याप्त मात्रामा छैन । किनभने शैक्षिक क्षेत्रमा राज्यको लगानी कति छ भनेर बुझ्न गाउँघरका विद्यालयलाई हेरे छर्लङ्ग देखिन्छ । राज्यले पर्याप्त मात्रामा शैक्षिक क्षेत्रमा लगानी नगर्दा विकट गाउँका विद्यालयले स्थानीय र अभिभावकसँग चन्दा संकलन गर्ने, सामुदायिक वनको घाँस, दाउरा बेचेर प्राप्त हुने आम्दानीबाट शिक्षकलाई तलब खुवाउनुपर्ने विकराल अवस्था छ । गाउँमा खुलेका      ११ र १२ पढाइ हुने विद्यालय पनि अभिभावकको बलबुताले सञ्चालित छन् । अर्कोतिर गाउँघरतिर शिक्षक नै पाउन मुस्किल छ । विद्यार्थी अनुत्तीर्ण हुनेको संख्या पनि उल्लेखनीय छ । सामुदायिक विद्यालयमा राज्यले गरेको न्यून लगानीका कारण विद्यालयले चाहेअनुसारको गुणस्तर र परिणाममुखी शिक्षा दिन सकेको छैन । बालबालिकाहरू आर्थिक अभाव, भौगोलिक विकटता र राज्यको कम लगानीका कारण शिक्षाबाट वञ्चित भएको पाइन्छ । राज्यले निःशुल्क शिक्षा दिने भनिएका विद्यालयमा बेला-बेलामा शुल्क नतिरेसम्म परीक्षा र लब्धाङ्क-पत्र रोक्का गरिएका समाचार सञ्चारमाध्यममा सुनिन्छ । सामुदायिक विद्यालयमा शुल्क असुल गर्दासमेत कसैलाई ध्यान छैन । तर, सम्भ्रान्त वर्गले पढाउने निजी विद्यालयमा परीक्षा, लब्धाङ्क-पत्र र शुल्क वृद्धि हुँदा चर्को आन्दोलन हुन्छ ।

शिक्षा जस्तो पवित्र र तटस्थ हुनुपर्ने क्षेत्रमा आमनागरिकका छोराछोरीहरुले समान रूपमा पढ्न पाउनुपर्ने अवसरबाट वञ्चित गरिएको छ । परिणामस्वरूप दूरदराजका बालबालिकाहरू आर्थिक अभावको कारणले बिचमै पढाइ अधुरै छाडेर वैदेशिक रोजगारीमा जान विवश छन् । अहिले सामुदायिक विद्यालय गरिब जनताका छोराछोरी मात्रै पढ्ने विद्यालयका रूपमा चिनिन थालेका छन् । त्यसकारण धनी, गरिब वा जुनसुकै अवस्था र वर्गको भए पनि सबैले सहज पहुँचयोग्य र स्तरीय शिक्षा पाउनुपर्छ । बरु गुणस्तरीय शिक्षा र पूर्वाधार व्यवस्थाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी बढाउन सक्नुपर्छ ।

शिक्षा विकासको पूर्वाधारमध्ये सबैभन्दा महत्त्वपूर्ण पक्ष  मानिन्छ । जहाँ प्राविधिक, अपांगमैत्री एवं लैंगिकमैत्री पूर्वाधार र उपकरण तुलनात्मक रूपमा राम्रा छन् । कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, शौचालय, खानेपानी र खेलमैदान सुविधा सम्पन्न भएका विद्यालय र विश्वविद्यालय छन् । र, शिक्षक तथा प्राध्यापकले गुणस्तरीय शिक्षण सिकाइ र अभ्यास नियमित रूपमा गराउँछन् । तिनै विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थीको चाप बढी हुन्छ । नेपालको परिप्रेक्ष्यमा स्नातक र स्नातकोत्तर तहभन्दा माथिल्लो तहमा पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ सरकारी क्याम्पस नै हुन् । जस्तैः व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, चिकित्सा शिक्षा र वन विज्ञान विषयमा अभिभावक तथा विद्यार्थीको पहिलो रोजाइ हुने गर्छ । तर, विद्यालय तहमा भने अभिभावक तथा विद्यार्थीको रोजाइ निजी लगानीमा सञ्चालित बोर्डिङ स्कुलमा हुने गर्दछ । शिक्षामा रहेका यी दुई फरक अवस्थाले मुलुकको शिक्षा पद्धतिमा के समस्या छ भनेर अनुमान गर्न सहजै सकिन्छ । संविधानमा शिक्षाका लागि माध्यामिक तहसम्म स्थानीय तहलाई एकल अधिकार दिएको छ । तरशिक्षा ऐन नहुँदा तीन तहका सरकारबिचमा कसले के गर्ने भन्ने समस्या देखिँदै आएको छ । तथापि, केही हदसम्म काठमाडौंका सामुदायिक विद्यालयमा स्थानीय सरकारले राम्रो गर्न खोजेको देखिन्छ । पछिल्लो समय गाउँघरका विद्यालयमा आर्थिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको कमीका कारणले गर्दा हाम्रो शिक्षा नीति सहरकेन्द्रित हुन पुगेको छ । जसका कारण छोराछोरी पढाउन भन्दै गाउँ र पहाडबाट बिस्तारै मानिस सहर र तराई झरिरहेका छन् । पहाडी भेगका विद्यालयहरूमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको देखिन्छ । अहिले पनि गाउँघरका विद्यालयमा व्यावहारिक र गुणस्तरयुक्त शिक्षा एवं सिपको प्रबन्ध गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा मानवीय व्यवस्था पूरा गर्न चुनौतीपूर्ण छ । शैक्षिक क्षेत्र जस्तो आधारभूत आवश्यकताका विषयहरू पूर्णतः राज्यले जिम्मेवारी लिन सक्नुपर्छ । यस विषयमा केन्द्र सरकारले गम्भीर भएर समस्याको समाधान निकाल्नु जरुरी देखिन्छ ।

शिक्षण संस्थालाई साधनस्रोत सम्पन्न बनाउन कम्तीमा पनि कुल बजेटको २० प्रतिशत शिक्षाका लागि सरकारले छुट्याउन सक्नुपर्छ । युनेस्कोका अनुसार  दिगो विकास लक्ष्यका लागि कुल गार्हस्थ्य उत्पादनको न्यूनतम ४ देखि ६ प्रतिशत र कुल सार्वजनिक खर्चको १५ देखि २० प्रतिशतसम्मको रकम शिक्षामा खर्च गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । तर, सरकारले आ.व. २०८१ र ०८२ को बजेटमार्फत शिक्षा क्षेत्रमा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ अर्थात् कुल प्रस्तावित बजेटको १०.९४ प्रतिशत विनियोजन भएको छ । त्यसमध्ये ८० प्रतिशत बजेट शिक्षक तथा कर्मचारीहरूको तलब-सुविधामा मात्रै सकिन्छ । बाँकी २० प्रतिशत बजेटले विद्यालयका भौतिक संरचना निर्माण, आर्थिक तथा सामाजिक रूपमा पिछडिएका वर्गलाई छात्रवृत्ति र शैक्षिक क्रियाकलाप सञ्चालन गर्न निकै कठिनाइ हुन्छ । बजेटमार्फत सिपमूलक र प्राविधिक, रोजगारी बढाउन, अध्ययन अनुसन्धानमुखी बनाउन, शैक्षिक गुणस्तर बढाउन, उद्यमशीलता र नवप्रवर्द्धन अभिवृद्धि गर्न, रुचि र क्षमताअनुसार अध्ययन गर्न पाउनुपर्ने कुरा बजेटको अभावले पूरा हुन सकेको छैन । राज्यले विशेष गरी बजेटलाई उच्च प्राथमिकतामा राख्दै शैक्षिक नीतिमा उपयुक्त नीति, लगानी, दक्ष जनशक्तिको विकास र शिक्षण पद्धतिको आधुनिकीकरण गरी विज्ञान र प्रविधि शिक्षालाई सरकारले गर्न जोड दिनुपर्छ । संघ, प्रदेश र स्थानीय तहका सरकारले अनुसन्धानका लागि शैक्षिक संस्थानहरूसँग परस्पर सम्बन्ध र समन्वय गर्नुपर्दछ । र, सबै तहले नवीनता र अनुसन्धानका लागि बजेट छुट्याउनुपर्दछ। यस्तै कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, शौचालय, खानेपानी र खेलकुद मैदान सुविधा सम्पन्न भएका विद्यालय र विश्वविद्यालयमा भौतिक पूर्वाधार हुनु जरुरी छ । जसका कारणले मात्रै असल, योग्य, सक्षम, प्रतिस्पर्धी, उत्पादनमूलक जनशक्ति तयार हुन्छ ।

शिक्षामा के कति रकम खर्च भएको छ ॽ किन शैक्षिक गुणस्तर खस्किँदै गएको हो ? व्यावहारिकभन्दा पनि र सैद्धान्तिक कुराहरू ज्यादा मात्रामा किन पढाइ भइरहेको छ ? सामुदायिक विद्यालयमा किन विद्यार्थी घट्दै गइरहेका छन् ? सामुदायिक विद्यालयमा ९८ प्रतिशतभन्दा बढी तालिम प्राप्त शिक्षक कार्यरत भए पनि किन धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् ? विद्यालयको नतिजा उच्च नहुनुको कारण के हो ? कसको के कति जिम्मेवारी छ ? यस विषयमा नेपाल सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय, विद्यालय र अभिभावकसमेतले गम्भीर भएर बहस गर्नु जरुरी छ । आजको विज्ञान र प्रविधिको युगमा सरकारले मुलुकका सम्पूर्ण ठाउँमा प्रविधि र विद्यार्थीमैत्री व्यावहारिक शिक्षा प्रदान गर्न सक्दिन भन्न पाउँदैन । किनभने गुणस्तरयुक्त शिक्षा स्वदेशमा उपलब्ध गराउन नसक्दा विद्यार्थीहरू विदेशमा पढ्न जानेको संख्या घट्नेभन्दा पनि झन्झन् बढिरहेको छ । हाम्रा अधिकांश विद्यालय र विश्वविद्यालयको अवस्था हेर्दा राज्यले फगतमा खोस्टो प्रमाण-पत्रधारी जनशक्ति मात्रै उत्पादन गरिरहेको छ । शिक्षा हासिल गर्नु भनेको प्रमाणपत्र हासिल गर्नु मात्र होइन । विश्वव्यापीकरणको आवश्यकतालाई हेरेर दक्ष सीपयुक्त र उच्च शिक्षा हासिल गरेका जनशक्ति तयार गरी प्रतिस्पर्धा गर्न सक्ने उत्पादन सक्नुपर्दछ ।

अन्त्यमा, नियम कानुनभित्रै रही शैक्षिक क्षेत्रलाई युगान्तकारी परिवर्तन ल्याउन सक्नुपर्छ । नेपालको संविधान, २०७२ को अनुसूची खण्डमा विभिन्न तहको शिक्षा सञ्चालन सम्बन्धमा केन्द्रदेखि स्थानीय तहसम्मको अधिकारलाई स्पष्ट किटान गरिएको छ । प्रदेश, केन्द्र र स्थानीय तहले शिक्षामा लगानी बढाउनै पर्छ । तीनै तहका सरकारले शैक्षिक क्षेत्रलाई युगान्तकारी परिवर्तन ल्याउने गरी नीति-नियम बनाएर काम गर्नु जरुरी देखिन्छ । उच्च शिक्षा नीति,२०७२ ले उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्दै प्रतिस्पर्धी, उद्यमशील मानव संसाधन विकास र अन्तर्राष्ट्रिय परिवेशअनुकूल प्रतिस्पर्धी बनाउने उद्देश्य प्रस्ट पारेको छ । त्यसकारण हाम्रो शिक्षा नीति एकातिर, नियत अर्कैतिर जस्तो बन्नुहुँदैन । राज्यले शिक्षा प्रणालीमा देखिएका सम्पूर्ण समस्यालाई नीति, निर्देशन, ऐन, नियमावलीलाई कार्यान्वयनमार्फत समाधान खोज्नुपर्छ । शैक्षिक क्षेत्रलाई लगानीमार्फत व्यावहारिक, रोजगारमूलक, गुणात्मक र व्यावसायिक शिक्षा बनाउनतिर सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । यस प्रणालीभित्र भएका तमाम विकृति, बेथिति नियन्त्रण गर्न सक्नुपर्छ । तसर्थ, शिक्षा क्षेत्रमा देखिएका तमाम समस्यालाई व्यापक सुधार तथा परिमार्जन गर्नु आजको आवश्यकता हो । शैक्षिक क्षेत्रलाई चुस्तदुरुस्त बनाउँदै जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधिमा आधारित, व्यावसायिक र अनुसन्धानमुखी बनाउन सक्नुपर्छ । तब मात्र मुलुकले आर्थिक विकास र शैक्षिक क्षेत्रलगायतका सम्पूर्णमा अग्रगामी छलाङ मार्न सक्छ ।

The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Governance Monitoring Centre Nepal and/or Centre for Social Change.

Author Introduction

Ramchandra Adhikari is an enthusiastic management graduate with a proactive approach, passionate about governance issues and loves to write on areas of governance conflict. He aims to drive meaningful discussions and insights in these areas.