लेखक : रामचन्द्र अधिकारी
विकास एउटा निरन्तर परिवर्तनको प्रक्रिया हो । अर्थात्, विकास बहुआयामिक र समयसापेक्ष विषय हो । मुलुक जति आयामिक छ, विकास पनि त्यति नै बढी बहुआयामिक हुन्छ । मुलुक जति जटिल हुन्छ, विकास पनि त्यति नै बढी जटिल हुन्छ । हामी नेपाली मुलुकमा विकास भएन भन्ने कोलाहलले विगतदेखि वर्तमानसम्म कराइरहेका छौँ । शिक्षक, विद्यार्थी, राजनीतिकर्मी, पेसाकर्मी, अधिकारकर्मी, प्राज्ञिक, वृद्ध, किसान, युवा र बालबालिकालगायत सबैलाई विकास चाहिएको छ । अनि मुलुकमा विकास नभएकामा एकअर्काप्रति आरोप-प्रत्यारोप, दोषारोपण व्यक्तिपिच्छे लगाइरहेका छौँ । वास्तवमा हामीले इतिहासको विकासक्रम हेर्ने हो भने विकासको गतिलाई ढिलो पार्न वा छिटो पार्न सकिन्छ, तर रोक्न कदापि सकिँदैन । विकासमा लगानी भयो भने निरन्तर रूपमा आर्थिक समृद्धि अगाडि बढ्छ । तर, हामीले के कुरा बुझाउनुपर्छ भने ४०/५० किलोमिटर बाटो बन्नु मात्रै विकास होइन । अहिले जुम्ला, मुस्ताङको स्याउ कुहिएर मल बनिरहेको छ । हामीले त्यसलाई यातायातको माध्यमबाट बजारीकरण गर्न सकेका छैनौँ । यदि त्यसलाई बजारीकरण गर्न सकियो भने त्योचाहिँ विकास हो ।

त्यसैगरी, मानवले विकासका नाममा खोजेको उन्नति, प्रगतिको आधार नै समृद्धि हो । तर, हामीले कर्णालीमा चामल मात्रै बाँड्ने काम गर्यौ । त्यहाँका मानिसलाई माछा खान दिने होइन, माछा मार्न सिकाउनुपर्छ भन्ने चेतनाको विकास गर्नै सकेनौँ । कर्णालीका नाममा धेरैले सहरमा महल बनाए । अहिले पनि कर्णालीमा गरिबी, अशिक्षा र बेरोजगारी जस्ताको तस्तै छ । कर्णालीमा कति बजेट खन्याइयो, त्यहाँ कति खर्च भयो/भएन भनेर अनुगमन र मूल्याङ्कन सही रूपमा हुन सकेन । किनकि त्यहाँ सही योजना, नीति, तर्जुमामा आधारित अनुसन्धान, सामाजिक अवस्थाको सामान्य मूल्याङ्कनको अवस्था निकाल्न सक्नुपर्थ्यो । यो हामीले गर्न सकेका छैनौँ । किनकि हाम्रा विकास नीति, रणनीति तथा विकास प्रयास पछौटे छन् । त्यहाँको जनजीवनको स्तर र विकासले तय गरेका आधारहरू हेर्दा अत्यन्तै नाजुक देखिन्छन् । त्यसकारण हामीले राजनीतिक संस्थाहरू, आर्थिक संस्थाहरू र सामाजिक रूपान्तरणमा लागेका संस्थाहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । त्यहीअनुकूल दृष्टि, योजना, कार्यान्वयन गर्ने संयन्त्र, मूल्याङ्कन गरी स्रोत-साधन, पुँजीको परिचालन गरिनुपर्दछ । तब मात्र संस्थागत विकास हुन्छ । फलस्वरूप आफ्नै देशको माटो, संस्कार, संस्कृति, भाषा र मौलिकताअनुकूलको राजनीतिक र आर्थिक संस्थाहरूले देखाउने विकास र समृद्धि निर्माण गर्न सकिन्छ । नभए संस्थाहरूको दृष्टि, उद्देश्य, नीति र संयन्त्र प्रस्ट नहुन्जेल समृद्धि र विकास हासिल गर्छु भन्नु ‘हात्ती आयो, हात्ती फुस्सा’ जस्तै हो ।
नेपालको ऐतिहासिक भूगोल, मानवीय भूगोल र आर्थिक भूगोलको अध्ययन बेगर कसैले विकास र समृद्धिका गफ चुट्नु अर्थहीन/हावादारी हुन्छ । यहाँ छरिएर रहेका हिमाली तथा पहाडी बस्तीमा शिक्षा, स्वास्थ्य, यातायात, बिजुली, पानी र सञ्चार सेवा सुविधा पुऱ्याउन कठिन हुन्छ । एउटा बस्तीबाट हिँडेर अर्को बस्तीमा पुग्न एक दिन लाग्छ । अनि त्यस बस्तीमा १० घर-परिवारमा ३० जनाभन्दा बढी मान्छे पनि हुँदैनन् । त्यहाँ रहेका युवायुवती सहर हुँदै विदेशतिर गएका छन् । घरमा वृद्ध अवस्थाका बा-आमा मात्रै छन् । अनि त्यस ठाउँमा अस्पताल, विद्यालय, बिजुली, खानेपानी, सडक, सञ्चार जस्ता पूर्वाधार पुर्याउन धेरै खर्च लाग्ने गर्दछ । हाम्रा गाउँका कुनाकाप्चामा सडक भने दिनदिनै खनेको खन्यै छन् । कसका लागि पहरा फोर्दै बाटा बन्दै छन् ? गाउँमा मान्छे छैनन्, गाउँ रितिँदै छन् । युवा जति रोजगारीको खोजीमा विदेश पलायन भएका छन् । प्रश्न गम्भीर उब्जिएको छ । बाटो खन्दाखन्दा पहाड कति कमजोर भइसक्यो भने पहिरो र भूक्षयले वातावरण मात्र होइन, जिउधनकै नोक्सान गरिरहेको छ । यसको ज्वलन्त उदाहरण २०८१ सालमा आएको बाढी र पहिरोले पनि प्रस्ट पारेको छ । त्यसकारण हामीले त्यो पैसाले एकीकृत बस्ती बसाउन सक्नुपर्छ । अनि मात्र गाउँका कुनाकाप्चामा रहेका मानिसहरूले कठिनाइ भोग्नुपर्ने बाध्यता हुँदैन । केन्द्रीकृत बस्तीमा पूर्वाधार विकासका लागि सहज, सरल, सस्तो र व्यवस्थित गर्न सजिलो हुन्छ । छरिएको बस्ती र पछौटे जनजीवन सहज रूपमा समाधान हुन्छ । हामीले वर्तमान परिवेशमा विकासका विषयमा गम्भीर भएर पुनर्विचार गर्नुपर्ने वेला आएको छ ।
अर्कोतिर आर्थिक समृद्धितिर हेर्दा प्राकृतिक पुँजी र मानवीय पुँजीको जति विस्तार हुन्छ, त्यति नै समृद्धिको मापन बन्न सक्छ । मानवीय पुँजीको हिसाब हेर्दा मूल रूपमा व्यक्तिको शिक्षाको स्तर, आयआर्जन, स्वास्थ्य र औसत आयुलाई नै मापन गरिन्छ । तर, अहिलेको हाम्रो मानवीय शक्ति खाडी मुलुक बनाउन लागेको छ । दिन-प्रतिदिन युवापुस्ता बिदेसिने क्रम जारिरहेको अवस्था छ । बढ्दो सहरीकरण, बसाईँसराइ तीव्रगतिमा भइरहेको छ । देशमा उत्पादित समग्र पुँजी निश्चित वर्ग, बिचौलिया र सानो समुदायको नियन्त्रणमा पर्न गएको छ । र, यो वर्गलाई मुलुकको अर्थतन्त्र निर्माण र रोजगारी सिर्जनासँग कुनै चिन्ता र चासो छैन । हाम्रो संस्कार, प्रवृत्ति, बानी, व्यहोरा, मूल्याङ्कन पद्धति आदिमा केही परिवर्तन हुन सकेन । मूलतः हामीले आफैँ उठ्ने प्रयत्न गरेनौँ । त्यसकारण तत्काल अगाडि देखिएका समस्यामाथि बजेटको चारो फालेर समृद्धि हासिल हुनेवाला छैन । योजनाविहीन देशमा सकेको गरिखाऊँ भन्दैमा पनि कुनै सुधार हुनेवाला छैन । हामी भ्रष्टाचार, नातावाद, कृपावाद र माफियावादको सट्टा सदाचार, सुशासन, इमानदारी, नैतिकवान, पारदर्शिता र क्रियाशीलतामा केन्द्रित हुन सकेनौँ । यी सबै समस्याहरूको निराकरण गरेर मात्रै हामी समृद्धितिर लाग्न सक्छौँ । विकास र समृद्धि बाहिरी दुनियाँबाट होइन, हाम्रो आफ्नै देशको सुहाउँदो माटो, चाहना, आवश्यकता, ऐतिहासिक, मानवीय र आर्थिक भूगोलभित्र रहेर खोज्नुपर्दछ । मुलुकमा साँच्चै विकासै गर्ने हो भने सबैभन्दा पहिले आउँछ औद्योगिकीकरणको विकास गर्नुपर्छ । जसबाट गाउँका कुनाकाप्चा/दूरदराजबाट कामको खोजीमा आउने कामदार केन्द्रित हुनेछन् ।
विकास र समृद्धिलाई हेर्दा शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्यको संरचना जस्ता विषयमा कुनै सम्बन्ध छैन । विकास र समृद्धिसँग न त लोकतन्त्र, समाजवाद वा तानाशाहीकै कुनै सम्बन्ध छ । हामी, विकास र समृद्धि हासिल गर्न लोकतान्त्रिक मुलुकमा मात्र सम्भव छ भन्छौँ । तर, विकास र समृद्धि हासिल गर्न लोकतन्त्र नै चाहिन्छ भन्ने छैन । जस्तै: दक्षिण कोरिया, सिङ्गापुर, युगोस्लाभिया विकास र समृद्धि हासिल गरिसकेका मुलुकहरू हुन् । राजतन्त्र भएका स्क्यान्डेनेभियालीहरू, एकात्मक राज्य भएका चीन, जापान, नर्वे मुलुकहरू छन् । त्यस्तै, सङ्घीय राज्य भएका अमेरिका, भारत, प्रत्यक्ष चुनाव हुने बेलायत, समानुपातिक (मिश्रित) फ्रान्स देशहरूले युगान्तकारी परिवर्तन हासिल गरिसकेका छन् । यस्तै, संसद्ले छान्ने प्रधानमन्त्री भएको जापान, पार्टीले नै पदाधिकारी नियुक्त गर्ने चीन, संसदीय व्यवस्था भएको बेलायत, राष्ट्रपति व्यवस्था भएको अमेरिका सबै मुलुकहरुले विकास र समृद्धि हासिल गरिरहेका छन् । ती मुलुकहरूलाई कुनै कुराले अवरोध गरेको छैन ।
अर्कोतिर हामी जनसङ्ख्या, भौगोलिक बनावट, भौगोलिक अवस्थिति जस्ता विषयले विकास र समृद्धिलाई रोक्छ भन्छौँ । तर, जनसङ्ख्या वृद्धिले विकास हुन सकेन भन्ने हो भने चीन विश्वको शक्तिशाली मुलुक बन्दै छ । जापान, कोरियालगायत खाडीका मुलुकहरूले जनशक्ति अभाव हुँदा पनि अन्य मुलुकहरूबाट जनशक्ति लगेर भए पनि विकास र समृद्धि हासिल गरिरहेका छन् । विभिन्न बहस र छलफल हेर्दा चीन, अमेरिका र भारत जस्ता ठुला देश भएको भए विकास हुन्थ्यो । हामी सानो देश भएर विकास भएन भन्दै घाँटी फुलाएर भाषण गरेको सुन्छौँ । तर, नर्वे र सिङ्गापुर सानै देश हुन् भन्ने बुझदैनौँ । यस्तै, हाम्रो मुलुकलाई हिमाल र पहाडले धेरै ओगटेको छ । जसका कारण सम्पूर्ण स्रोत, साधन र पूर्वाधारमै बढी खर्च गर्नुपर्ने भएको ठान्छौँ । तर, युरोपमा विकास भएकै छ । भूपरिवेष्ठित मुलुक भएर विकास भएन भन्छौँ । अर्कोतिर स्विट्जरल्यान्ड, सोमालियाले विकास र समृद्धि हासिल गरिरहेका छन् । हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रो नेतृत्वसँग विकास गर्ने पवित्र सोच भए मात्र विकास र समृद्धि हुन्छ । नभए जुनसुकै क्रान्ति/आन्दोलन वा व्यवस्था परिवर्तन भए पनि विकास र समृद्धि हुँदैन । मूलतः हामीकहाँ विकास र समृद्धिका सिद्धान्तहरूमा कतै कमीकमजोरी देखिँदैन । सबैभन्दा ठुलो समस्या त शासकहरूको नैतिकता, स्वार्थ, उत्तरदायित्व, इमानदारी, बानी-व्यहोरा शोषकीय प्रवृत्ति, दास मानसिकता आदिमा देखिन्छ । यही नै आजको मुख्य समस्या हो ।
अत: हामीलाई शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताको साथै विकास र समृद्धि चाहिएको छ । त्यसकारण राष्ट्रको इतिहास, संस्कृति, नैतिकवान, विचारधारा, भूगोल, सुशासन, आर्थिक स्रोत र साधनहरूले नै विकास र समृद्धिको रूपरेखा तय गर्दछ । मुलुकलाई दिगो र गतिशील बनाउने जिम्माः नीति निर्माता, नीति कार्यान्वयनकर्ता सरकारी निकाय, निजी क्षेत्र र उद्योग व्यवसायीको पनि उत्तिकै रहन्छ । नीति, सिद्धान्त, कार्यक्रमबाट आर्थिक, राजनीति र सामाजिक परिवेशभित्र पहिले र अहिलेको अवस्थामा तुलना गर्दै अगाडि बढ्नुपर्छ । तब मात्र हामीले विकास र समृद्धिले सही मार्ग चित्ररेखा कोर्न सक्छौँ।

लेखक परिचय
मेरो नाम आरसी अधिकारी हो । मेरो घर ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नम्बर १ मा पर्छ । मैले व्यवस्थापन संकायबाट स्नातकोत्तर तह अध्ययन पूरा गरेको छु । र, अहिले कानुन संकायमा पनि स्नातक तह (LLB) अध्ययन गरिरहेको छु । विशेष गरी म अनुसन्धानमूलक लेखहरू लेख्न रुचि राख्ने, स्वतन्त्र रूपमा समसामयिक विषयवस्तुका बारेमा कलम चलाउँदै आएको छु । पछिल्लो समय मेरा लेखहरू विभिन्न अनलाइन तथा राष्ट्रिय पत्रपत्रिकामार्फत प्रकाशित भएका छन् । साथै, मेरो आफ्नै पुस्तक “युवाले देखेको नेपाल” पुस्तक पनि प्रकाशित छ । विगत लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा लागेर देशमा सुशासन कायम गर्नुपर्छ भन्ने उद्देश्यका साथ लागिरहेको छु ।
The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Governance Monitoring Centre Nepal and/or Centre for Social Change.