पूर्वका पहाडी पालिकाका दुःख– ‘अधिकार छ, अर्थ छैन’

लेखक : विराट अनुपम

गत साउनमा तेह्रथुम जिल्लालाई रोचक संयोग परेको थियो । देश हाँक्ने राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्म तेह्रथुमकै अनुहार थिए । तेह्रथुममै जन्मिएका प्रधानमन्त्री केपी शर्मा ओली र तेह्रथुममै जन्मिएकी सचिव लीलादेवी गड्तौला पनि मुख्यसचिव भइन् । यो रोचक संयोगका बारेमा मैले जिल्लाका जनप्रतिनिधिहरूसँग कुराकानी गरेँ । के छ त प्रधानमन्त्री र मुख्यसचिवसँग जिल्लाको लागि चाहिने विकासे आग्रहभन्दा सबैजसोले विभिन्न परियोजनाहरू प्रस्ताव गरे । तर, तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले भने जिल्लाका प्रधानमन्त्री र मुख्यसचिव भएकोले जिल्लालाई केन्द्रित गरेर परियोजना माग गर्ने खालको कर्मकाण्डी कुरा गरेनन् । उनले नीतिगत सवालमै कुरा राखे । देशका चर्चित अनुसन्धानात्मक लेखक तथा प्रतिष्ठित पहिचान पुरस्कारसमेत पाएका माबुहाङले नीतिगत सुधार गर्न आवश्यक रहेकोप्रति दिँदै भने, ‘पहिले केन्द्रमा धेरै कर आएर पालिका जान्थ्यो, अहिले पैसै छैन ।’ पहाडी पालिका र अझ कम आय भएका पालिकाहरूको दुःख काठमाडौँसँग जोड्दै उनले थपेका थिए, ‘काठमाडौँको न्युरोडमा संघले कि स्थानीय तहले कसले बजेट हाल्ने भन्ने प्रतिस्पर्धा छ । स्थानीय तहमा पैसा नै छैन । आम्दानीले पालिका धान्दैन ।’ उनले देशमा सांसद सङ्ख्या घटाउने र पालिकाहरू मर्जरमा गएर देशको अर्थतन्त्रअनुसारको संरचना बनाउन प्रधानमन्त्री तथा मुख्यसचिवको ध्यानाकर्षण गराउन चाहेको बताएका थिए । माबुहाङ त जिल्लाको सबैभन्दा धेरै पर्यटक ल्याउने र राम्रो आम्दानी गर्ने पालिकाका प्रमुख हुन् । उनकै यस्तो गुनासो भएपछि अरू पालिकाहरूको अवस्था के होला, अनुमान नै काफी छ ।

Bhojpur; Image Credit: Pratikshya Giri

भोजपुरको एक पालिकाका प्रमुख किरण राईले गाउँपालिकाका दुःखैदुःख भएको सुनाए । उनले पहाडी पालिकामा भएका मुख्य दुःखका बारेमा दिएका ६ बुँदा मननयोग्य छन्ः

  • बजेटको बलियो समस्या । ससर्त धेरै र निसर्त थोरै हुनु । आन्तरिक आय कमजोर हुनु । पहाडी पालिकाले बाह्य ऋण लिन अनुमति नपाउनु ।
  • जनसंख्यालाई मात्रै प्रमुख आधार मानेर भूगोललाई बेवास्ता गर्दा विकासमा अवरोध हुनु ।
  • छरिएर रहेका बस्ती, जग्गा उपयोगमा ठोस नीति नहुनु । पर्यटन, पूर्वाधार तथा उत्पादन क्षेत्रलाई जोड्ने संरचना निर्माणमा वनलगायत सरकारी नियमले कठिनाइ बनाउनु ।
  • पूर्वाधार निर्माणको कानुन ठेकेदारमैत्री हुनु, व्यवहारमैत्री नहुनु ।
  • राष्ट्रियसभा, प्रतिनिधिसभामा सदस्यको संख्या धेरै हुनु तथा जिल्ला समन्वय समिति र विभिन्न कार्यालयहरू जिल्लामा भएर पालिकालाई बलियोभन्दा कमजोर बनाउने संरचनागत समस्या हुनु ।
  • स्थानीय सरकारले गरेको राम्रो कामको अपनत्व प्रदेश र संघ सरकारले नलिनु ।

गाउँपालिका अध्यक्ष किरण राई गाउँपालिका प्रमुखलाई र नगरपालिका प्रमुखलाई दिइने नाममै विभेद भएको बताउँछन् । ‘नगरपालिकाको चाहिँ मेयर, गाउँपालिकाको चाहिँ अध्यक्ष’, राई भन्छन्, ‘हामीलाई अध्यक्षभन्दा कुनै सञ्चालक समिति वा उपभोक्ता समितिको अध्यक्ष हो कि गाउँपालिकाको अध्यक्ष हो भन्ने अलमल मान्ने जमात पनि धेरै छ ।’ अङ्ग्रेजीमा म्युनिसिपालिटी भनेर नगरपालिकालाई भनिएको र गाउँपालिकालाई रुरल म्युनिसिपालिटी भनिए जस्तै मेयर र रुरल मेयर वा अरू कुनै नाम दिन सकिने राईले सुझाए । उनले भने, ‘यसले अरू केही नगरे तापनि एकरूपता भने ल्याउँथ्यो ।’

पालिकाका पीडाः विधानमा अधिकार छ, व्यवहारमा अधिकार छैन

नेपाली कांग्रेसको उम्मेदवारको रूपमा निर्वाचित अर्जुनबाबु माबुहाङ र नेकपा (एमाले)बाट निर्वाचित किरण राई दुवै आ–आफ्ना जिल्लाका दलका सेलिब्रेटीअनुहार हुन् । प्रदेश र सङ्घसम्म पहुँच तथा प्रोफाइल भएका नेता हुन् । देशभरका विभिन्न कार्यक्रमहरूमा बोलाइन्छन् माबुहाङ । मूलधारका अखबारहरूमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्छन् उनी । हालसालै एनटिभी इटहरीले आयोजना गरिएको वार्षिक उत्सवका एक प्रमुख वक्ता थिए राई । स्थानीय सरकारको बलियो अधिकार र व्यक्तिगत बलियो प्रादेशिक तथा राष्ट्रिय पहुँच र प्रोफाइल भएर पनि यी पालिका प्रमुखहरूले सोचेजस्तो कामहरू गर्न नसकेको बताउँछन् । त्यसको जरा पैसा नै हो । त्यसको प्रमुख खडेरी अर्थतन्त्रकै हो । जसको उदाहरण गत साउनमा माबुहाङले न्युरोडको उदाहरण दिएर गरेका थिए । पहाडी पालिकाहरू खासगरी गाउँपालिकाहरूको टाउको दुःखाइको कारण अर्थ अर्थात् पैसा भएको किरण राई बताउँछन् । उनी भन्छन्, ‘पहाडी पालिकामा अधिकार छ, अर्थ छैन ।’

माबुहाङ र राईले भनेका व्यावहारिक दुःख नहेर्ने र नेपालको संविधान मात्रै हेर्ने हो भने यस्ता दुःख नहुनुनपर्ने हो । उदाहरणका लागि नेपालको संविधानको अनुसूची ८ मा स्थानीय सरकारका २२ अधिकारहरूको चर्चा गरिएको छ । ती अधिकारमा धेरै महत्त्वपूर्ण अधिकारहरू छन् । जस्तैः सहकारी संस्था सञ्चालन, एफ.एम. रेडियो सञ्चालन, स्थानीय कर सङ्कलन, आधारभूत तथा माध्यमिक शिक्षा, स्थानीय स्वाथ्य, सडक यसैमा आउँछन् । विपत् व्यवस्थापन होस् वा प्रकृति तथा भाषा संस्कृति संरक्षण होस्, सबै स्थानीय सरकारकै अधिकारमा छन् । बेरोजगारको तथ्याङ्क संकलन गर्ने होस् वा रोजगारको आवास तथा भूस्वामित्व वितरणमा होस् सबैमा जोडिन्छ स्थानीय सरकार । यी स्थानीय सरकारका २२ अधिकारहरू काल्पनिक अधिकार होइनन् । यी त संविधानकै अनुसूचीमा अटाएका अधिकार हुन् ।

संविधानको अनुसूची ९ मा स्थानीय, प्रदेश तथा सङ्घका विभिन्न १५ अधिकारहरू अटाएका छन् । यी अधिकार हेर्दा त स्थानीय सरकारले प्रदेश र सङ्घसँग मिलेर जाने हो भने व्यापक काम गर्न सकिने संवैधानिक तथा कानुनी आधार दिन्छ । उदाहरणको लागि खानी उत्खननको अधिकार यही अनुसूचीमा छ । खानेपानी, सिँचाइ तथा जलविद्युतको अधिकार यसैमा छ । सुकुमवासी व्यवस्थापनको कुरा यतै अटाएको छ । यत्ति मात्रै होइन, सामाजिक सुरक्षा तथा गरिबी निवारणका समग्र साझा संवैधानिक अधिकार यही अनुसूचीमा अटेको छ ।

यी र यस्ता अधिकारहरू भए तापनि स्थानीय सरकारहरूले वैधानिक अधिकारलाई व्यावहारिक कार्यान्वयनमा लान सकेका छैनन् । पालिकाहरूसँग पालिका सडक बनाउने अधिकार त छ, तर त्यो सडक बनाउने पैसा छैन । पालिकाहरूसँग आधारभूत स्वास्थ्यदेखि शिक्षाको अधिकार त छ । तर,त्यसको लागू गर्ने बजेट अभाव छ ।

समग्रमा पहाडी पालिकाहरू वैधानिक रूपमा बलिया देखिए तापनि व्यावहारिक रूपमा मूलतः तीन कारणले कमजोर देखिएका छन् । पहिलो कारण– आन्तरिक आम्दानीको अभाव । दोस्रो कारण– आय आर्जन गर्ने जनशक्ति तथा जनसङ्ख्याको अभाव । तेस्रो कारण– सरकारले बजेट दिँदा भूगोलभन्दा जनसङ्ख्यालाई आधार मान्दा एक दिनमा सवारीमा हिँडेर मात्रै डुल्न सकिने पहाडी वडामा भन्दा एकैछिनमा पैदलै हिँडेर पुगिने तराईका वडाहरूमा धेरै बजेट खन्याइएको छ ।

स्थानीय सरकारलाई बलियो अधिकार दिएर मात्रै हुँदैन । उनीहरूको लागि चल्ने अर्थतन्त्र पनि बलियो बनाउने आधार दिनुपर्छ भन्ने नजिर हुन् यी । स्थनीय सरकारलाई कागजमा देखिने अधिकार मात्रै दिने होइन । उनीहरूको दैनिक काममा  देखिने अधिकार दिनुपर्छ भन्ने बिम्ब हुन् यी । देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को ‘बाइपार्टिसन’ सत्ता संघ सरकारसँग छ । त्यो सत्तासँग प्रतिनिधिसभामा ऐनकानुन बनाउन र पास गर्न पुग्ने बहुमत छ । त्यो बहुमतलाई प्रयोग गरेर यी पहाडी पालिकाहरूका साझा समस्याहरू सुल्झ्याउन लाग्ने समय आएको छ । यी कुराको समयमै सम्बोधन नहुने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको यो संवैधानिक अधिकारको कुनै व्यावहारिक अर्थ हुने छैन । नेपालको संविधान व्यावहारिक दस्ताबेज जस्तो नभएर एक काल्पनिक राजनीतिक आख्यान जस्तो मात्रै देखिनेछ ।

लेखक परिचय

Birat Anupam is a Kathmandu-based young Nepali journalist writing mainly on tourism, diplomacy and the environment. Having worked both in English and Nepali languages simultaneously, He is one of the few bilingual journalists of Nepal. Currently, He is working as a senior reporter for Nepalpress.com news portal and contributing author for The Diplomat of the US.

The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Governance Monitoring Centre Nepal and/or Centre for Social Change.