सूचनाको हकसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय कार्यालयको भूमिका

Author: Rakesh Prasad Chaudhary

ChatGPT Image Aug 11, 2026, 12_13_00 PM

नेपालको संविधानधारा २७ ले हरेक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषय सम्बन्धि सूचना माग्ने तथा पाउने अधिकारे सुनिश्चित गरेको छ। नागरिकको मौलिक हक तथा कर्तव्य अन्तर्गत समावेश रहेको यस धाराले कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य नपारिने स्पष्ट गरेको छ । त्यस्तै, ((धारा २८ ले व्यक्तिको गोपनियताको हक सुनिश्चित गरेको छ। नागरिक र राज्यले एकअर्कालाई सूचनादिनु कर्तव्य, अधिकारसँगै विधिको शासनकायम स्पष्ट रहेको बोध गराउँछ।

राज्यले नागरिकसँग सूचना लिने कानुनी व्यवस्था रहेपनि दुरुपयोग गर्ने अधिकार छैन । त्यस्तै नागरिकले प्राप्त गरेको सूचनाको दुरुपयोग गरिने कार्यलाई अपराध मानेको छ। नागरिकको सूचना पाउने हकलाई सुनिश्चित गर्न सूचनाको हकसम्बन्धी ऐन,२०६४ मै सार्वजनिक निकाय, सूचना अधिकारी, कार्यालय प्रमुख, सूचना प्राप्त गर्ने कार्यविधि, दस्तुर, उजुरी तथा राष्ट्रिय सूचना आयोगको स्थापना सम्बन्धी विषय समेटिएका छन्। ऐन र नियमावलीले स्पष्ट नपारेको तथा आइपरेको समस्याहरू समाधानका लागि कार्यविधि तथा निर्देशिकाहरू बनाएका छन् । सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिका, २०७६ मा हुलाक सेवा विभाग तथा हुलाक कार्यालयलाई समेत जिम्मेवार निकाय वा सरोकारवाला निकायमा समेटिएको छ। नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएपनि निर्देशिकामा नागरिकको प्रतिनिधित्व सुनिश्चित गरिएको छैन।

सूचनाको हकसम्बन्धी व्यवस्था तथा अनुगमन
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ मा आयोग सम्बन्धी व्यवस्था गरेको छ । सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने कामको लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोगको व्यवस्था छ। आयोगमा प्रमुख सूचना आयुक्त तथा दुईजना आयुक्त रहने गर्छन्। ऐनको दफा २० मा अधिकार प्रयोजनको व्यवस्था गरिएको छ। आयोगले सूचनाको हकको निवेदन नलिएको वा दर्ता नगरेको, आंशिक सूचना दिएको, गलत सूचना दिएको लगायतका नागरिकको उजुरी, पूनरावेदनको कारवाही र किनारा गर्ने अधिकारवाहेकको अन्य काम, कर्तव्य र अधिकार प्रमुख सूचना आयुक्त, सूचना आयुक्त वा कुनै निकाय वा कुनै अधिकारीलाई तोकिएको शर्तको अधिनमा रही प्रयोग तथा पालना गर्न पाउने गरि अधिकार प्रत्योजन गर्नसक्छ।

सूचनाको हकसम्बन्धी ऐन,२०६४ र सूचनाको हकसम्बन्धी नियमावली,२०६५ को कार्यान्वयन सम्बन्धमा प्रभावकारी रुपमा अनुगमन गर्ने व्यवस्थागरी सार्वजनिक निकायको काम कारबाहीमा पारदर्शीता कायम गर्न सूचनाको हकसम्बन्धी नियमावली,२०६५ को नियम २५ को उपनियम १९क०को अधिकार प्रयोग गरि नेपाल सरकारले २०७६ सालमा सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिका ल्याएको हो । नियम २५ को उपनियम १ मा आयोगले आफ्नो काम, कारवाही सुचारु रुपले सञ्चालन गर्नको लागि आवश्यक निर्देशिका बनाएर जारी गर्नसक्ने लेखिएको छ। त्यस्तै उपनियम १९क०मा आयोगसँग परामर्श गरि नेपाल सरकारले आवश्यक निर्देशिका बनाएर जारी गर्नसक्ने व्यवस्था छ । केन्द्रिय समन्वय इकाईमा हुलाकको प्रतिनिधिलाई समेटिएको छैन । यस इकाईमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिवलाई संयोजक, सञ्चार मन्त्रालय र राष्ट्रिय सूचना आयोगको सचिवलाई सदस्य तोकिएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सहसचिवलाई सदस्य सचिवको जिम्मेवारीमा राखिएको छ ।

सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्र्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यान्वयन अनुुगमन इकाई गठन गरिएको हो । यस इकाईमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सहसचिव, सम्बन्धीत मन्त्रालयको सञ्चार महाशाखा हेर्न सहसचिव, आयोगको सहसचिव, हुलाक सेवा विभागको महानिर्देशकलाई सदस्यमा राखिनुका साथै मन्त्रालयको सूचना अधिकारीलाई सदस्य सचिव तोकिएको छ। विभिन्नमन्त्रालय तथा केन्द्रीयस्तरको निकायबाट नागरिकलाई सूचना दिइएको वा दिन इन्कार गरिएको वितरण छुट्टाछुट्टै अभिलेख नराखेको भए अभिलेख राख्न लगाउने, सूचना अधिकारीको व्यवस्था नभए राख्न लगाउने, सूचनाअधिकारीको क्षमता अभिबृद्धिलगायतको जिम्मेवारी दिइएको छ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिवको संयोजकत्वमा सूचनाको हकको कार्यान्वयन भएरनभएको अनुगमन गर्न प्रदेश अनुगमन इकाई छ । यस इकाईमा रहने अन्य सदस्य प्रदेश सरकारले तोक्न सक्ने व्यवस्था कार्यविधिमा छ । सदस्य सचिवको जिम्मेवारी पनि स्पष्ट छैन। प्रदेशको मन्त्रालय तथा मातहतको सार्वजनिक निकायमा ऐन, नियम प्रभावकारी रुपमा कार्यान्वयन भएरनभएको, सूचना अधिकारी तोकिएरनतोकिएको, स्वस्फूर्त सार्वजनिक गरिनुपर्ने सूचना सार्वजनिक गरेरनगरेको अनुगमन गरि समस्या समाधान गर्न निर्देशन दिनसक्ने काम अनुगमन इकाईको छ। प्रदेश सरकारका मन्त्रालय, मातहतमा पर्ने कार्यालय र अन्यनिकायबीच समन्वय गर्ने तथा प्रदेशदेखि स्थानीयतहसम्मका सूचना अधिकारीको क्षमता अभिबृद्धि गर्ने जिम्मेवारी सोही इकाईको छ । निर्देशिकाले प्रदेशको अनुगमन इकाईलाई पूर्णतादिने अधिकार प्रदेश सरकारलाई तोकिएकोले कम प्रभावकारी भएको पाइन्छ।

जिल्ला अनुगमन इकाईको प्रभावकारीता
सूचनाको हकसम्बन्धी नियमावली,२०६५ को नियम २५ को उपनियम १९क०को अधिकार प्रयोग गरि नेपाल सरकारले २०७६ सालमा ल्याएको सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिकाको दफा ६ मा जिल्ला अनुगमन इकाईको व्यवस्था गरेको छ। प्रदेशभन्दा थोरै भएपनि जिल्ला अनुगमन इकाईले काम गरिरहेको पाइन्छ। नागरिक तहसम्म केन्द्रदेखि जिल्लास्तरसम्मको अनुगमन इकाईबारे खासै जानकारी नागरिक तथा सूूचना मागकर्तामा देखिएको छैन । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको यस इकाईमा जिल्ला समन्वय अधिकारी सदस्य तथा जिल्ला हुलाक कार्यालयको प्रमुख सदस्य सचिव छन्। जिल्लास्तरीय यस इकाईमा प्रमुखहरूलाई नै जिम्मेवारी तोकिएपनि उनीहरूले यसकालागि आफूभन्दा एक,दुई तह तह मुनिका कर्मचारी अथवा सम्बन्धीत कार्यालयका सूचना अधिकारीहरूलाई जिम्मेवारी दिइएको पाइन्छ। संघीय मन्त्रालय, प्रदेश सरकार अन्तर्गतको अनुगमन इकाईलाई दिइएको कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कामबाहेकको जिम्मेवारी जिल्लास्तरीय इकाईलाई तोकिएको छ । यस इकाईलाई राष्ट्रिय सूचना आयोगले जिल्ला हुलाक कार्यालय, हुलाक सेवा निर्देशनालयमार्फत आवश्यक रकम उपलब्ध गराउन सक्ने लेखिएको छ । हरेक तीन महिनामा तोकिएका इकाईहरूले गरेको कामहरूको विवरण माथिल्लो तहको अनुगमन इकाई तथा राष्ट्रिय सूचना आयोगमा पठाउनुपर्ने जिम्मेवारी तोकिएको छ।

सूचनाको हकसम्बन्धी पुनरावेदनको व्यवस्था
सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ७(२) ले दिएको अधिकार प्रयोग गरि बनाइएको पुनरावेदनको कारवाही किनारा गर्ने कार्यविधि,२०७८ ले सार्वजनिक निकाय वा कार्यालय प्रमुखको निर्णय उपर चित्त नबुझे पुनरावेदनको व्यवस्था गरेको छ। सूचना अधिकारीले बढीमा सातदिनभित्र तथा कार्यालय प्रमुखले १५ दिनभित्र सूचना दिन मिल्ने वा निमल्नेलगायतको निर्णय दिनसक्ने गर्छ। कुनै निर्णय नै नदिए वा दिएको निर्णयउपर चित्त नबुझे जानकारी पाएको ३५ दिनभित्र आयोगमा पुनरावेदन गर्न सकिन्छ। कार्यविधिले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयलाई मात्र नभई सिधै इमेलबाट पनि आयोगमा पुनरावेदन दिन सक्ने प्रावधान छ। जिल्ला प्रशासन कार्यालयले बुझेको पुनरावेदन तीनदिनभित्र आयोगमा पठाउनुपर्दछ। समय लाग्ने भएकोले सूचना मागकर्ताहरूले इमेलमार्फत सिधै आयोगमै पुनरावेदन पठाउने गरेको पाइन्छ। हुुलाकबाट पुनरावेदन गर्दा पत्रमा टिकट खर्च लाग्ने भएकोले इमेलको प्रयोग बढ्न थालेको हो । इमेलमार्फत् पनि सार्वजनिक निकायबाट सूचना माग गर्ने र पाउने अधिकार रहेकोले सोही ठाउँमार्फत् पुनरावेदन पनि गर्न सकिने व्यवस्था छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका कार्यालय प्रमुखहरू र सूचना अधिकारीहरूसँग नियमित बैठक गर्नेगर्छन्। जिल्लाका सार्वजनिक निकायमा कत्ति वटा निवेदन दर्ता भए र कतिवटा निवेदन अनुसार सूचना उपलब्ध गराइएको तथ्याङ्क नागरिकले सार्वजनिक रूपमा खोज्दा सम्पूर्ण विवरण पाउन ग्राहो छ। सूचनाको हकसम्बन्धी निवेदन लिन नमानेको, सूचना उपलब्ध गराउन आनाकानी गरेको, कार्यालय प्रमुखले सूचना नदिन सूचना अधिकारीलाइ अनौपचारिक आदेश दिएको समस्या सूुचना मागकर्ताले भोग्ने गरेका छन्। पारदर्शीताको सुलभ औजार सूचनाको हकलाई बेबास्ता गरिएको कारण पनि नागरिकमा सरकारी अड्डाप्रति अविश्वास बढेको छ।

नागरिकसँग जोडिन जिल्ला र पालिका हुलाकको भूमिका बढाउनुपर्ने
विभिन्न तहका अनुगमन इकाईमा नागरिकको तर्फबाट प्रतिनिधित्व हुन आवश्यक देखिन्छ। यसले अनुगमन इकाईको काम,कारबाहीबारे नागरिकसम्म जानकारी सार्वजनिक गर्न सहज हुनेछ। संघीय मन्त्रालय, प्रदेश सरकार अन्तर्गतको अनुगमन इकाईलाई दिइएको कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कामबाहेकको जिम्मेवारी जिल्लास्तरीय इकाईलाई तोकिएको छ।

यस इकाईलाई राष्ट्रिय सूचना आयोगले जिल्ला हुलाक कार्यालय, हुलाक सेवा निर्देशनालयमार्फत आवश्यक रकम उपलब्ध गराउन सक्ने लेखिएको छ। हरेक तीन महिनामा तोकिएका इकाईहरूले गरेको कामहरूको विवरण सो भन्दा माथिल्लो तहको अनुगमन इकाईमा पठाउनुपर्ने जिम्मेवारी तोकिएको छ। प्रदेशस्तरीय अनुगमन इकाईको प्रभावकारीता कम हुनुमा सूचनाको हक प्राथमिकतामा नपर्नु पनि एक हो। हिुलाक कार्यालयले गरेरै होला अथवा जिल्लास्तरमा संघ मातहतको कार्यालय भएकोले अनुगमन इकाईको सचिवालय जिल्ला हुलाक कार्यालयमा राखिएको छ। निर्देशिकामा जिल्लाबाहेक अन्य अनुगमन इकाईलाई सूचना अधिकारीको क्षमता अभिबृद्धि गर्न, गराउने सक्ने जिम्मेवारी दिइएको छ। जिल्ला अनुगमन इकाईलाई यो अवसर दिइए यसको प्रभावकारी कार्यान्वयनमा निकै मद्दत पुग्नसक्ने सम्भावना छ। राष्ट्रिय सूचना आयोगको नागरिकसँग सीधा सम्पर्कभन्दा पनि पुनरावेदन भए मात्र हुने अवस्था छ। जिल्ला र पालिका हुलाकका कर्मचारीको भेटघाट दैनिक सेवाग्राही र अन्य नागरिकसँग छ। टिकट खरिद, पत्राचार, पत्रपत्रिका वितरणलगायतको कामको दौरानमा यस कार्यालयका कर्मचारीहरूको संवाद अन्य सरकारी कार्यालय वा सार्वजनिक निकायसम्म हुनेगर्दछ । तथापि दुबैबीच हाललाई सूचनाको हकसम्बन्धी निवेदन दर्ता भएको विवरण लिने सम्बन्ध मात्र देखिएको छ।

अनुगमन इकाईमा प्राप्त सूुचनाको हकसम्बन्धी निवेदनको संख्या फाटफुट रुपमा डिजिटल सञ्चार सञ्जालमार्फत जिल्ला हुलाक कार्यालयले सार्वजनिक गरिएको पाइन्छ। हाललाई केन्द्र र प्रदेशमा नभएपनि जिल्ला र पालिकास्तरीय अनुगमन इकाईमा नागरिकको प्रतिनिधित्व आवश्यक छ । त्यसका लागि सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिकाको दफा ६ संशोधन गरि नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ। साथै पालिकास्तरीय अनुगमन इकाईको पनि व्यवस्था गरिनुपर्छ। सूचनाको हक कार्यान्वयन गर्नुेपर्ने अवस्थालाई बाध्यात्मकस्थिती निर्माण गर्न स्थानीय सरकार र पालिका हुलाक कार्यालयबीच अनुदानमूलक आर्थिक प्रोत्साहन सम्झौता हुन पनि आवश्यक छ। जस अन्तर्गत पालिकास्तरका हरेक सार्वजनिक निकायका कर्मचारीलाई सूचनाको हकसम्बन्धी ऐन, कानुन बुझाउन मद्दत पुग्नेछ। सूचनाको हकसम्बन्धी नागरिकको अधिकारलाई बेवास्ता गरिने सूचना अधिकारी र कार्यालय प्रमुखलाई मात्र दण्ड, जरिवाना नगरि सार्वजनिक निकायलाई समेत दण्डको व्यवस्था आवश्यक छ। हरेक योजना,परियोजना र कार्यक्रमको बजेटसँग मासिक खर्च फाँटवारी नागरिकले देख्नेगरि वेवसाइट तथा सूचनापाटीमा सार्वजनिक गर्ने वातावरण निर्माण भए मात्र सरकारी तथा गैरसरकारी निकाय वा अन्य सार्वजनिक निकायमाथि नागरिकको विश्वास कायम हुनसक्छ। नगरिकले विश्वास गरे मात्र सुशासन र पारदर्शी सरकार मान्न सकिन्छ।

Author Introduction

Rakesh Prasad Chaudhary is a Terai-Madhesh based independent journalist, writer , and reviewer. His work focuses on investigative and in-depth reporting, book and article writing, and reviews for more than 25 years. His work is regularly featured nowadays in Nepal News and some other newspapers and online portals. He has worked in many different media, such as newspapers, radio, television, and online news portals in past years as a reporter and news editor. His research papers and articles have also been published in many books and journals of Nepal.