असल शासनबाट विश्वसनीय शासनतर्फको यात्रा : नागरिक विश्वास अभिवृद्धि गर्ने आधार

Author: Dipesh Ghimire

ChatGPT Image Aug 19, 2026, 12_54_05 PM

परिचय

एक्काइसौँ शताब्दीको शासकीय बहसमा असल शासन लामो समयदेखि एक प्रमुख अवधारणाको रूपमा रहँदै आएको छ । पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता, विधिको शासन, समावेशिता, तथा प्रभावकारितालगायतका आधार स्तम्भलाई असल शासनका मुख्य विशेषताका रूपमा लिने गरिन्छ । यद्यपी, पछिल्लो समय संसारभरका लोकतान्त्रिक संस्थाप्रति घट्दो विश्वास, बढ्दो भ्रष्टाचारले निम्त्याएको निराशा, राजनीतिक ध्रुवीकरण र सार्वजनिक सेवा-प्रवाहप्रतिको असन्तुष्टिका कारण राज्य क्षमतामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् । यस्तो अवस्थामा के असल शासनका परम्परागत आधारहरूमा केन्द्रित सुधारले मात्र नागरिकको विश्वास पुनर्स्थापित गर्न सक्छन् ?  वा सक्दैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।

समकालीन विश्वमा असल शासन नभई विश्वसनीय शासनलाई प्राथमिकता दिन थालिएको छ । असल शासनले राज्यमा कस्ता संस्था, कानुन र अभ्यास हुनुपर्दछ भन्ने मापदण्ड तय गर्दछ भने विश्वसनीय शासनले त्यस्ता संस्थाहरूलाई नागरिकहरूले किन विश्वास गर्ने भन्ने प्रश्नको जवाफ खोज्दछ । यो लेखले अबको शासन सुधारको केन्द्रमा असल शासनबाट विश्वासिलो शासनतर्फ अगाडि बढिरहेको छ भन्ने प्रस्ट्याउने प्रयत्न गरेको छ ।

असल शासनको सफलता र विश्वासको संकट

सन् १९९० को दशकपछि विश्वव्यापी शासन तथा विकास बहसमा असल शासन सबैभन्दा प्रभावशाली अवधारणाका रूपमा विकास भयो । यसपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व बैंक, एसियाली विकास बैंक, आर्थिक सहकार्य तथा विकास संगठन, अन्तर्राष्टिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले शासनको गुणस्तरलाई विकासको महत्त्वपूर्ण पूर्वसर्तका रूपमा व्याख्या गर्न थालेका थिए । विश्व बैंकले शासन प्रक्रियालाई राज्यले सार्वजनिक नीति निर्माण गर्ने, उक्त नीतिको प्रभावकारी कार्यान्वयन गर्ने, तथा निजी तथा नागरिक क्षेत्रसँग सम्बन्ध स्थापित गर्ने क्षमताका रूपमा परिभाषित गर्दै राज्यको संस्थागत क्षमता, जवाफदेहिता, सार्वजनिक सेवाको प्रवाह, कानुनी शासन तथा पारदर्शिता जस्ता सवाललाई विकासको केन्द्रमा राखेको थियो । यसैगरी, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले पनि असल शासनलाई प्रशासनिक दक्षताको सवालका रूपमा मात्र नलिई विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता, समावेशिता, प्रभावकारिता, सहमति निर्माण, उत्तरदायित्वलगायतमा आधारित शासन प्रणालीका रूपमा प्रस्तुत गरेको थियो । यी दृष्टिकोणका अनुसार असल शासनले कानुन, नीति निर्माण तथा संस्थाको स्थापनाले उत्तरदायी, समावेशी तथा लोकतान्त्रिक शासन निर्माण गर्दछ ।

शीतयुद्धको समाप्तिसँगै विकासका असफलताहरूको विश्लेषण गर्दा आर्थिक वृद्धि, विदेशी सहायतमा गरिने पूर्वाधार निर्माण मात्र पर्याप्त नभई राज्यका संस्थाहरूको गुणस्तर, कानुनको शासन, पारदर्शिता, जवाफदेहिता तथा नागरिक सहभागिता आवश्यक रहेको मान्यता बलियो बन्दै गयो । यही समयमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले असल शासनलाई लोकतन्त्र, विकास र गरिबी न्यूनीकरणको मूल आधारका रूपमा अगाडि सारेका थिए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सन् २००२ मा प्रकाशित गरेको मानव विकास प्रतिवेदनले सहभागिता, कानुनी शासन, पारदर्शिता, जवाफदेहिता, सहमतिमा आधारित निर्णय प्रक्रिया, समावेशिता, समानता, प्रभावकारिता तथा दक्षता र उत्तरदायित्वलाई असल शासनको आधारभूत स्तम्भ मानेको छ ।

ओइसिडीले सन् २०२४ मा गरेको सर्भे अन डाइभर्स अफ ट्रस्ट इन पब्लिक इन्स्टिच्युसनले पनि यस किसिमको विश्वव्यापी प्रवृत्तिलाई उजागर गरेको छ । सर्वेक्षणमा सहभागी भएका देशहरूमा राष्ट्रिय सरकारप्रति उच्च वा मध्यमस्तरको विश्वास रहेको बताउने नागरिकको सङ्ख्या करिब ३९ प्रतिशत रहेको थियो । सर्वेक्षणमा सहभागी भएका बहुसङ्ख्यक नागरिकले सरकारको निष्पक्षता, निर्णय क्षमता, नीति कार्यान्वयनको विश्वसनीयता र भविष्यका सम्भावित चुनौतीहरूको सम्बोधन गर्ने क्षमता अत्यन्त कमजोर रहेको जवाफ दिएका थिए । यसले आजको शासन संकट केवल संस्थागत कमजोरी नभई मूलतः विश्वासको संकट हो भन्ने देखाउँदछ ।

यसपछि विश्वले असल शासनका यस्ता अवधारणालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न उल्लेखनीय संस्थागत तथा नीतिगत सुधार गरेका छन् । नेपालमा पनि वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको कार्यालय जस्ता संवैधानिक आयोगको स्थापना, सूचनाको हकसम्बन्धी ऐन- २०४, सुशासन ऐन २०६४  सार्वजनिक खरिद ऐन २०६३ जस्ता कानुनी व्यवस्था गरिएको छ । यी सबै संस्थागत तथा नीतिगत सुधारहरू असल शासनका सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयासहरू हुन् । यद्यपि, संस्थागत क्षमता विकास, कानुनी तथा नीतिगत सुधारहरू र सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधिको उपयोग बढे तापनि नागरिकहरूको सार्वजनिक संस्थाप्रतिको विश्वास बढ्न सकेन । अर्थात् असल शासनका औपचारिक सूचकहरूमा व्यापक मात्रामा सुधार भएता पनि संस्थाप्रति नागरिकको विश्वासको अवस्थामा सुधार हुन सकेन ।

नेपालले यस अवधिमा ३ वटा संविधान निर्माण गर्यो । संघीय शासन प्रणालीको कार्यान्वयन गर्यो । डिजिटल सेवा विस्तार गर्यो । सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्यायो । सामाजिक सुरक्षा कार्यक्रमको विस्तार, स्थानीय सरकारको सुदृढीकरण तथा सार्वजनिक सेवामा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा व्यापक सुधार गर्यो । तर आमनागरिकको सार्वजनिक संस्थाप्रतिको विश्वास अपेक्षित रूपमा बढ्न सकेन । भ्रष्टाचार नियन्त्रणको लागि संसारकै बलियो मध्येको एक अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापित भयो, तर नागरिकको विश्वास छैन । सूचनाको हकसम्बन्धी ऐन जारी भयो । सार्वजनिक निकायले सहजै सूचना दिन्छन् भन्ने नागरिक तहमा विश्वास आर्जन हुन सकेन । बरु राजनीतिक अस्थिरता, भ्रष्टाचार चर्चित घटनाहरू, सेवा प्रवाहमा ढिलासुस्ती, दण्डहीनता, कानुनको कमजोर कार्यान्वयन, नीतिगत असङ्गति तथा कमजोर सार्वजनिक सञ्चारका कारण नागरिकहरुमा सरकार तथा सार्वजनिक संस्थाप्रतिको विश्वास घट्दो र निराशा बढ्दो अवस्थामा रह्यो । मूलतः युवा पुस्तामा लोकतान्त्रिक संस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिले सार्वजनिक संस्थामाथिको विश्वास अझ घटाएर लग्यो । लामो समयदेखिको राजनीतिक अस्थिरता तथा संक्रमण तथा निरन्तर भइरहेका आन्दोलन तथा विद्रोहले असल शासनका लागि स्थापना भएका यस्ता निकायहरू र नीति तथा कानुनमाथि नागरिक मूलतः युवा पुस्ताले विश्वास गर्न नसकेको यथार्थता देखाउँदछ ।

विश्वसनीय शासन भनेको नागरिकले सरकार, सार्वजनिक संघसंस्था तथा सार्वजनिक पदाधिकारीहरूका निर्णय, व्यवहार तथा सेवा प्रवाहप्रति विश्वास गर्न सक्ने शासन व्यवस्थालाई बुझिन्छ । यस्तो शासनमा राज्यका संस्थाहरूले सार्वजनिक हितमा पारदर्शिता, जवाफदेहिता, इमानदारी, निष्पक्षता, कानुनी शासन तथा प्रभावकारिताका आधारमा काम गर्दछन् । सरल रूपमा भन्नुपर्दा सार्वजनिक निकायले जे गर्छन्, त्यो पारदर्शी, न्यायपूर्ण र सार्वजनिक हितमा आधारित छ भन्ने नागरिकलाई विश्वास हुने अवस्थालाई नै विश्वसनीय शासन भनिन्छ । विश्वसनीय शासनले बलिया संस्था, दक्ष प्रशासन, राम्रो नियम कानुनबाट नभई शासनको सफलता मापन गर्ने नभई नागरिकको विश्वास, वैधता, र लोकतान्त्रिक स्वीकार्यताबाट मापन गरिनुपर्दछ भन्नेमा जोड दिन्छ ।

समकालीन समयमा देखापरेको शासनसम्बन्धी संकट वा अविश्वासको अवस्थालाई सार्वजनिक विश्वासको संकटको रूपमा लिनुपर्दछ । संस्थागत सुधार, कानुन तथा नीतिको संशोधनले शासनलाई थप सक्षम त बनाउन सक्छन् तर त्यस्ता संस्थाहरूले नागरिक विश्वास आर्जन गर्न त्यसभन्दा बढी नै कार्य आवश्यक हुन्छ, जसमा नैतिक नेतृत्व, राजनीतिक इमानदारी, निष्पक्ष निर्णय प्रक्रिया, प्रभावकारी सञ्चार, न्यायपूर्ण सेवाप्रवाह, सार्वजनिक उत्तरदायित्व र नागरिकको वास्तविक अनुभवलगायतका पक्षहरू रहेका छन् । यदि नागरिकले राज्यका संस्थाहरूलाई आफ्ना हितको संरक्षक भन्दा शक्ति र स्वार्थको साधनका रूपमा अनुभूति गर्न थाले भने असल शासनका सबै औपचारिक सूचकहरूमा सुधार आए तापनि त्यसले लोकतन्त्रलाई विस्तारै कमजोर बनाउँदै लैजान्छ । यस अवस्थामा अब असल शासनको परम्परागत अवधारणाबाट अगाडि बढ्दै विश्वसनीय शासनतर्फको यात्रालाई अगाडि बढाउनुपर्ने समय आएको छ ।

असल शासन र विश्वसनीय शासनबिच केही आधारभूत भिन्नता रहेको छ । उदाहरणका लागि कुनै पनि एउटा सरकारी निकायले आफ्नो बजेट वेबसाइटमा राख्नु असल शासनको अभ्यास हो । तर नागरिकले उक्त बजेट वास्तवमै आवश्यक क्षेत्रमा प्रयोग भयो, परिणाम देखियो, भ्रष्टाचार भएन भन्ने अनुभूति गर्नु विश्वनीय शासन हो । त्यसैले असल शासनयुक्त सरकार आवश्यक छ, तर विश्वासिलो सरकारको आवश्यकता अझ धेरै रहेको छ । असल शासन र विश्वसनीय शासनबिचको भिन्नतालाई तलको तालिकाले प्रस्ट रूपमा देखाउँदछ ।

तालिका नं. १. असल शासन र विश्वसनीय शासनबिचको अन्तर

क्र. सं.

असल शासन

विश्वसनीय शासन

प्रक्रिया केन्द्रित

सम्बन्ध केन्द्रित

संस्थागत सुधार

व्यवहारगत परिवर्तन

नियम पालनमा जोड

नागरिक विश्वास आर्जनमा जोड

पाररदर्शितामा जोड

सत्यता र विश्वसनीयताको सुनिश्चितता

जवाफदेहिता

उत्तरदायित्वको अनुभूति

सेवा प्रवाह

परिणाम र सकारात्मक अनुभव

स्रोतः लेखक, २०८३

नेपाल – असल शासनको विस्तार तर विश्वासको संकट

नेपालले पछिल्लो करिब साढे तीन दशकमा आफ्नो राजनीतिक इतिहासमा विभिन्न परिवर्तनको अनुभव गरेको छ । विं सं. २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्यवस्थाको पुनर्स्थापना, २०६२-०६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य, मधेश आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना आदि प्रमुख रहेका छन् । यस्ता आन्दोलनमार्फत आएका परिवर्तनले लोकतन्त्रलाई संस्थागत गर्ने, नागरिक अधिकारको संरक्षण गर्ने, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा राज्यलाई नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बनाउने महत्त्वपूर्ण आधार तयार पारेका छन् । संघीयता, समावेशी शासन, स्थानीय सरकारको स्थापना, अख्तियार, महालेखा परीक्षकको स्थापना, मौलिक हकको विस्तारले असल शासनको अवधारणालाई थप व्यापक बनाएको देखिन्छ ।

यद्यपि, लोकतान्त्रिक संरचनाको विस्तारसँगै नागरिकको अपेक्षा पनि तीव्र रूपमा बढेको छ । विशेष गरी शिक्षित युवा, केवल संविधान जारी हुनु, संवैधानिक आयोग स्थापना हुनु, नियमित निर्वाचन सम्पन्न हुनु, प्रतिनिधित्व सुनिश्चित हुनु मात्र लोकतन्त्रको सफलता मान्दैनन् । उनीहरू गुणस्तरीय सार्वजनिक सेवा, भ्रष्टाचार नियन्त्रण, रोजगारीका अवसर, पारदर्शी शासन, प्रभावकारी न्याय जस्ता प्रत्यक्ष परिणामको अपेक्षा गरिरहेका छन् । जब यी अपेक्षाहरू पूरा हुँदैनन् तब राजनीतिक उपलब्धिहरूको महत्त्व पनि कम हुँदै जाने खतरा हुन सक्छ र राज्यका संयन्त्रहरूले नागरिक विश्वास गुमाउँदै जान्छन् । यस्तो अवस्थामा असल शासनका आधारहरूको स्थापना गरेर मात्र नपुगेर अबका दिनमा यी व्यवस्थालाई विश्वसनीय शासनमा रूपान्तरण गर्नु जरुरी छ ।

यसै सन्दर्भमा गत भदौमा भएको जेन-जी विद्रोह उल्लेखनीय छ । डिजिटल प्रविधिमा अभ्यस्त, सामाजिक सञ्जालमार्फत संगठित र सूचनामा सहज पहुँच भएको यो पुस्ताले विश्वासिलो शासन, इमानदार नेतृत्व, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राजनीतिक एजेन्डाका रूपमा अघि सारेको देखिन्छ । युवाले विचारधाराभन्दा पनि बढी शासनको परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्न थालेको देखिन्छ ।

जेन-जीले राज्यसँग केवल संस्था, कानुन र प्रतिनिधित्व मात्र खोजिरहेका छैनन्, बरु इमानदार नेतृत्व, निष्पक्ष अवसर, छिटो सेवा, डिजिटल पारदशिता तथा वास्तविक जवाफदेहिताको पनि माग गरिरहेका छन् । यो विश्वासीलो शासनको आधारभूत सवाल हुन् । यस अर्थमा नेपालमा भएको जेन-जी विद्रोह लोकतान्त्रिक र असल शासनसँग सम्बन्धित संस्थाको अभावको कारण सिर्जित भएका सवाल होइनन् । बरु यो त नयाँ पुस्ताको बदलिँदो अपेक्षा र पुरानो शासन संस्कृतिबिचको अन्तर पनि हो । नेपाली लोकतन्त्रका लागि आगामी सफलता नागरिकले राज्यलाई कति विश्वसनीय ठान्छन् भन्ने आधारमा मापन हुने देखिन्छ ।

विश्वसनीय शासनका आधारहरू

नागरिकहरूले सरकारको सफलता संस्थागत संरचना वा नीति घोषणाबाट होइन, आफ्नो दैनिक जीवनमा देखिने परिणामका आधारमा मूल्यांकन गर्न थालेका छन् । त्यसैले अबको शासन सुधारले नागरिकको विश्वास निर्माण गर्ने नयाँ आधारहरूलाई प्राथमिकता दिन आवश्यक रहेको देखिन्छ । यसका लागि विश्वसनीय शासनका केही आधारहरू छन् ।

पहिलो, परिणाममुखी शासन हुनुपर्दछ । आमनागरिक तथा नयाँ पुस्तालाई सरकारले कति नीति बनायो, कति कानुन निर्माण गर्यो, कति कार्यक्रमको घोषणा गर्यो, कतिवटा संस्था निर्माण गर्यो भन्ने कुरामा भन्दा पनि त्यस्ता नीति, कानुन, घोषणा तथा संस्थाहरूले आफ्नो जीवनमा कस्तो सकारात्मक परिवर्तन ल्यायो भन्ने विषय बढी महत्त्वपूर्ण हुन पुगेको छ । परिणाममुखी शासनले मात्रै सार्वजनिक नीतिलाई नागरिकको वास्तविक आवश्यकतासँग जोड्ने कार्य गर्दछ ।

दोस्रो, विश्वसनीय शासन निर्माणमा संस्थागत सुधार मात्र पर्याप्त हुँदैन, नेतृत्व नैतिकवान हुनुपर्दछ । यसका लागि इमानदार तथा नैतिक नेतृत्व र सार्वजनिक व्यवहार उत्तिकै महत्त्वपूर्ण हुन्छ । जब नेतृत्वले नै उच्च नैतिक मापदण्डको उदाहरण प्रस्तुत गर्दछ, तब नागरिकको विश्वास पनि स्वाभाविक रूपमा बलियो बन्दै जान्छ ।

तेस्रो, डिजिटल विश्वास हुनुपर्दछ । डिजिटल प्रणाली सुरक्षित, विश्वसनीय, पारदर्शी तथा नागरिकमैत्री हुन्छ भने शासनलाई विश्वसनीय बनाउँदछ ।

चौथो, सार्वजनिक सेवा विश्वसनीय हुनुपर्दछ । सार्वजनिक सेवाको गुणस्तर सुधार गर्नु भनेको नागरिक विश्वास आर्जन गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो ।

पाँचौँ, नागरिकसँगको सहकार्य बढाउनुपर्दछ । आधुनिक लोकतान्त्रिक शासनमा नागरिकलाई केवल सेवा प्राप्त गर्ने निष्क्रिय उपभोक्ताका रूपमा नभई नीति तथा कानुन निर्माणका साझेदार, सामाजिक निगरानीकर्ता तथा जवाफदेहिताका संरक्षकका रूपमा स्थापित गर्न जरुरी छ ।

नेपालका लागि केही सुझा

नेपालले विश्वसनीय शासनलाई प्रवर्द्धन गर्नका लागि तत्काल कम्तीमा पाँचवटा कार्य गर्नु आवश्यक देखिन्छ । पहिलो, विश्वास सूचकांकको निर्माण गरिनुपर्दछ । यस सूचकांकमार्फत नागरिकले सरकार, न्यायालय, संसद्, सुरक्षा निकाय, संवैधानिक आयोग तथा सार्वजनिक सेवा प्रतीक कुन तहको विश्वास राख्दछन् भन्ने कुराको नियमित मापन गरिनुपर्दछ ।

दोस्रो, भ्रष्टाचार नियन्त्रणमा नागरिकले अनुभूति गर्ने तहको परिणाम दिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण प्रणालीलाई अनुसन्धान, मुद्दा दायर तथा प्रतिवेदन प्रकाशनबाट माथि उठेर नागरिकको विश्वास आर्जन गर्ने गरी काम गर्नु आवश्यक छ ।

तेस्रो, राजनीतिक जवाफदेहितामा सुधार गरिनुपर्दछ । यसका लागि राजनीतिक दलहरूले निर्वाचन घोषणापत्र कार्यान्वयन प्रतिवेदन तयार गर्ने, नियमित रूपमा नागरिक संवाद अगाडि बढाउने, दलभित्रको आन्तरिक लोकतन्त्र सबल बनाउने जस्ता कार्य गर्नुपर्दछ ।

चौथो, सार्वजनिक सेवामा नागरिक अनुभव मापन गर्न सुरु गर्नुपर्दछ । प्रत्येक सार्वजनिक सेवाको नागरिक अनुभव मापन प्रणाली विकास गर्नु आवश्यक छ । यसमा सेवाप्राप्त गर्न लागेको समय, लागत तथा सन्तुष्टिलाई समेट्न सकिन्छ ।

पाँचौँ भनेको संस्थागत स्वायत्तता र स्वतन्त्रताको सुनिश्चितता हो । यदि यस्ता संस्था राजनीतिक प्रभावबाट मुक्त हुन सकेनन् भने नागरिकको विश्वास कमजोर भएर जान्छ । त्यसैले संवैधानिक तथा नियमनकारी निकायमा पारदर्शी र विश्वासिलो नियुक्ति प्रणाली, योग्यता र व्यावसायिकताका आधारमा नेतृत्व चयन, अनुसन्धान निकायलाई पर्याप्त स्रोतसाधन तथा प्राविधिक क्षमताको सुनिश्चितता, राजनीतिक हस्तक्षेपबाट संस्थागत सुरक्षा, सुनिश्चित गर्न आवश्यक छ ।

अन्त्यमा, एक्काइसौँ शताब्दीको शासन बहस अब परम्परागत असल शासनबाट विश्वसनीय शासनतर्फ अगाडि बढेको छ । जहाँ अबको शासन भनेको असल छ कि छैन मात्र होइन, विश्वसनीय छ कि छैन भन्ने कुराले मापन गर्दछ । यति वेला नेपालको प्रमुख चुनौती भनेको नयाँ कानुन, संस्था वा नीति बनाउनु मात्र होइन, नागरिकले सोधिरहेको के राज्य मेरो लागि निष्पक्ष, सक्षम तथा भरोसायोग्य छ ?  भन्ने प्रश्नको जवाफ दिनु रहेको छ । जब नागरिकले यो प्रश्नको सकारात्मक जवाफ पाउँदछन् त्यही दिनबाट लोकतन्त्र बलियो हुन्छ । राज्यप्रतिको नागरिक विश्वास बढेर जान्छ । त्यसैले अबको दिनमा असल शासनबाट अगाडि बढ्दै विश्वसनीय शासन निर्माणमा राज्य प्रणालीको ध्यान केन्द्रित हुनुपर्दछ ।

Author Introduction

दिपेश घिमिरे त्रिभुवन विश्वविद्यालय, नेपालमा समाजशास्त्रका उपप्राध्यापक हुनुहुन्छ। उनले लोकतन्त्र, सुशासन, निर्वाचन प्रणाली तथा नागरिक समाजको सहभागिताको क्षेत्रमा २० वर्ष देखि कार्यरत हुनुहुन्छ । उहाँका अनुसन्धान तथा प्रकाशनहरू नागरिक आन्दोलन, लोकतन्त्र, सामाजिक समावेशीकरण, सुशासन, नागरिक सहभागिता तथा युवामैत्री शासनका विषयमा केन्द्रित छन्। घिमिरेले सन् २०२३ मा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । दिपेश घिमिरे त्रिभुवन विश्वविद्यालय, नेपालमा समाजशास्त्रका उपप्राध्यापक हुनुहुन्छ। उनले लोकतन्त्र, सुशासन, निर्वाचन प्रणाली तथा नागरिक समाजको सहभागिताको क्षेत्रमा २० वर्ष देखि कार्यरत हुनुहुन्छ । उहाँका अनुसन्धान तथा प्रकाशनहरू नागरिक आन्दोलन, लोकतन्त्र, सामाजिक समावेशीकरण, सुशासन, नागरिक सहभागिता तथा युवामैत्री शासनका विषयमा केन्द्रित छन्। घिमिरेले सन् २०२३ मा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।