Author: Ritesh Panthee
२६ अगस्टको बिहान रसुवामा आएको बाढी नेपाली र विश्वले अन्य समयमा देखेजस्तो बाढी थिएन। त्यस्तै यसको उद्गम हिमालबाट भएको थियो। त्यो दिन नेपालीले मात्र होइन नेपाल घुम्न आएका पर्यटकले समेत हिमसुनामी देखेका थिए। त्यसैले यसलाई बाढीकै रूपमा हामीले र विश्वले बुझ्यौँ भने त्यो अपुरो तथा प्रत्युत्पादक सिद्ध हुन्छ। यदि बाढी नै हुन्थ्यो भने पूर्वानुमान हुन्थ्यो। भाग्न पर्याप्त समय हुन्थ्यो, ज्यान जोगाउने सम्भावना हुन्थ्यो।
त्यसैले अहिले यो पूर्वानुमान गर्न नसक्ने खालको विपत्ति थियो भनेर विज्ञहरूको धारणा आएको छ। त्यो झन्डै १६७-१९३ किमि प्रतिघन्टाको गतिमा आएको र करिब १०० मिटरमाथिसम्म पुगेको भयावह पानीको रूप थियो भन्ने अध्ययनले पुष्टि गरेको छ। यसलाई हालै वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनकै कारण घटित विपत्तिसमेत भनेका थिए। नेपालका परराष्ट्रमन्त्रीले समेत पटक पटक आफ्नो अन्तर्वार्तामा हिमसुनामीको संज्ञा दिएका थिए।
अस्ट्रेलियाका टनेल विशेषज्ञ अर्नोल्ड डिक्सले भोटेकोसीमा आएको बाढी विश्वमै असामान्य प्रकृतिको विपत्ति हो र एउटै मात्र नभएर एकैपटक धेरै उद्धारको सामना गर्नुपरेको भन्दै यसलाई आफ्नो जीवनकै कठिन परीक्षाका रूपमा लिएको भनेका थिए। यसले समेत यो सङ्कटको गाम्भीर्य बुझ्न सकिन्छ। हालसम्म १४५० बढीको शव भेटिएको छ भने ५००० भन्दा बढी बेपत्ता भए।
त्यस्तै, सेप्टेम्बरको अन्त्यमा ४ दिनको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोले २७ जनाको निधन र ४ बेपत्ता भएका थिए भने हजारौँ परिवारलाई असर गर्यो, सयौँ घर बगायो ३१ पुललाई क्षति पारेको थियो। त्यस्तै, ११ अक्टुबरमा गोरखाको बुढीगण्डकीमा आएको भयावह बाढीले समेत ठुलो क्षति भयो। यसले निर्माणाधीन ४ जलविद्युत् आयोजनामा क्षति गर्यो भने मनास्लु पदयात्रा क्षेत्रसम्मको पहुँचसमेत अवरुद्ध पार्यो। यसले समेत दसैँको मुखैमा नागरिकलाई घरबारविहीन त कतै सडक सञ्जाल नै भत्काइदिएर आक्रान्त पार्यो। त्यसको कारण अझै अनुसन्धान भइरहेको छ।
विपतको वेलाका प्राथमिक उद्धारकर्ता
त्यस्तै, विपतको खबर पाउनासाथ घटनास्थलमा सबैभन्दा पहिले पुग्ने र नागरिकको जीवन रक्षामा अहोरात्र खट्ने अग्रस्थानमा काम गर्ने सिपाही हुन्- प्रहरी र सशस्त्र प्रहरी बल। रसुवा बाढीपछि सशस्त्र प्रहरीको उद्धार टोलीले भग्नावशेषभित्रबाट बालकको रोदन सुनेर उद्धार गरेको घटनाले विपत् उद्धारको मानवीय पक्षसमेत उजागर गरिदिएको थियो। यी दुई सुरक्षा निकाय नेपालको विपत् व्यवस्थापनको मेरुदण्ड हो, तर जति वेला विपतले विकराल रूप लिन्छ। त्राहीत्राही नै मच्चाउँछ, सीमापार चुनौती थप्छ र मानवीय क्षमताभन्दा बाहिरको विनाशकारी स्थिति सिर्जना गर्छ, त्यति वेला केवल ‘विपत् व्यवस्थापन’मा मात्र सीमित रहँदैन यो सिधै ‘राष्ट्रिय सुरक्षा’ को विषय बन्न पुग्छ।
नेपालमा जलवायु परिवर्तनले हिमाल तातिँदै जाँदा हिमपहिरो तथा हिमतालको जोखिम बढ्दै जाँदा , अचानक आउने बाढीले रणनीतिक सडक र जलविद्युत् पूर्वाधार बगाउँदै, हजारौँ नागरिकलाई एकैपटक विस्थापित गर्न सक्ने अवस्था आउँदा राष्ट्रिय सुरक्षाको अर्थ फराकिलो बनाउनुपर्ने देखिन्छ। त्यसैले, राष्ट्रिय सुरक्षा केवल सीमानाकामा बन्दुक बोकेर उभिनु मात्र रहेन, अपितु नागरिकलाई विपतबाट जोगाउनु, आपतकालीन सूचना समयमै सञ्चार गर्नु, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण गर्नु, उद्धार क्षमता विस्तार गर्नु र संकटपछि राज्यको सेवा निरन्तर राख्नु पनि राष्ट्रिय सुरक्षाकै हिस्सा बन्नुपर्छ।
त्यस्तो विषम परिस्थितिमा ‘अन्तिम शक्तिको रूपमा’ नेपाली सेनाको उपस्थिति अपरिहार्य बन्न जान्छ। हालैका विपत्तिले बदलिएको सेनाको भूमिका र जलवायुजन्य प्रकोपलाई नेपालले राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा हेर्नुपर्ने देखाएको छ।
विपतमा नेपाली सेना र सुरक्षा
नेपाली सेनाले संविधानले दिएको जिम्मेवारीअनुसार काम गर्ने हो। संविधानको धारा २६७ ( ४ ) मा नेपाल सरकारले नेपाली सेनालाई विकास निर्माण र विपत् व्यवस्थापनलगायतका कार्यमा समेत परिचालन गर्न सक्नेछ भनेबाटै सेनालाई पृथक् स्थान दिएको पाइन्छ। रसुवा ‘हिमसुनामी’ प्रभावित नुवाकोटमा सेनाले पाँच दिनमा एक्रो ब्रिज बनाएर त कतै नुवाकोटको वेत्रावती फलाकु खोलामा एक्रो ब्रिज जडान गरेर नुवाकोटलाई रसुवासँग जोड्ने सडक ४७ दिनमा खुलेको छ र दसैँमा नागरिकलाई सहज पारेको छ। विपतमा सेनाको बढ्दो भूमिकालाई नेपाली सेनाले संवेदनशील रूपमा लिएको देखिन्छ। राष्ट्रिय सुरक्षाको परम्परागत भनाइलाई बदलिँदो परिवेशले चुनौती दिएको छ। जलवायु परिवर्तनले सिर्जना गर्न सक्ने चुनौती राष्ट्रिय सुरक्षाको सवाल हुन पुगेको छ।
नेपालमा अचानक आएको बाढीले हजारौँ मानिसले ज्यान गुमाए। कसैले परिवार गुमायो त कसैले सन्तान गुमाए। मानिसको सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकारमा आघात परेको छ। मानिसको सम्पत्ति बगरमा परिणत भएको छ। बस्ने छानो र ओत लाग्ने ठाउँ राज्यकै भरोसामा बस्नुपर्ने भएको छ। जलवायु अन्याय भोग्नुपरेको छ। जलवायु परिवर्तनकै कारण आन्तरिक विस्थापित हुनुपरेको छ। हजारौँ बालबालिका शिक्षा र स्वास्थ वातावरणको हकबाट वञ्चित भएका छन्। अप्रत्याशित रूपमा ठुलो परिमाणमा आएको यो बाढीले नेपालमा त्राहीत्राही मच्चाएर व्यापक परिणाममा खर्बौँको धनजनको क्षति गरेको छ। यसले गम्भीर मानवीय संकट मच्चाएको छ। सरकारले १५ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
त्यस्तै, रणनीतिक महत्त्व बोकेको नेपाल-चीन नाका रहेको क्षेत्र केरुङ बोर्डर नै बगरमा परिणत भएको छ। अर्थतन्त्रमा व्यापक क्षति भएको छ। एकैदिनको बाढीले जिल्ला-जिल्लाबिचको सम्पर्कविच्छेद गरिदिने गर्दै छ। जमिन भासिने क्रमले काठमाडौंबाट निस्किने व्यक्तिले मार खेप्नुपर्ने महँगी खेप्नुपर्ने भएको छ। साथै, जलवायु परिवर्तनले एल निनोजस्ता प्राकृतिक घट्नाक्रमहरूले मच्चाउने विनाशको दायरा बढ्दै छ। हाम्रोजस्तो मुलुकमा जलवायुजन्य विपत्तिले मच्चाउन सक्ने तबाही अझै ज्यादा छ। इसिमोडको प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको र सन् २००० यता हिउँ पग्लिने दर दोब्बर भएको भन्छ।
नेपाली सेनाले सन् २०१५ मा आएको भूकम्पको वेलामा ‘अपरेसन सङ्कट मोचन‘ होस् या हिमालमा रहेको अति जोखिमयुक्त हिमताल ‘इम्जा’ हिमतालको पानी घटाउने कार्य होस् या हालैको बाढीले दुर्गम क्षेत्रमा राहात पुर्याउन ड्रोनको प्रयोग होस् यी उदाहरणीय कार्य हुन् त्यसले मनमनमा अमिट छाप छाडेको छ। नेपालमा सन् २०१५ मा आएको भूकम्पमा १० मध्ये ९ सेनाका सिपाही अर्थात् सेनाको ९० प्रतिशत जनसङ्ख्या नै खोज, उद्धार तथा राहत वितरणमा परिचालन भएका थिए। त्यस्तै, सन् २०१६ मा सोलुखुम्बुको ५,०१० मिटरमा अवस्थित इम्जा हिमताल, जुन फुट्ने जोखिमको दृष्टिले छै छैटौँ स्थानमा थियो, त्यहाँको पानी घटाउने कार्य ६ महिनाभन्दा बढी समय लगाएर सम्पन्न गरेको थियो। तालको पानी सुकाउने कार्य नेपाललाई जलवायु परिवर्तनसँग जुध्न मद्दत गर्ने संयुक्त राष्ट्रसंघीय परियोजनाको हिस्सा थियो।
विपतको बदलिँदो चुनौती
हालै सरकारले हिमताल विस्फोटनबाट हुन सक्ने बाढीको क्षति कम गर्न जोखिमयुक्त चार हिमतालको पानी घटाउन लागिपरेको छ। यहाँ सेनाको विगतको सिपको राज्यले फाइदा उठाउन सक्नुपर्छ। नेपाल, चीन र भारतमा गरी ४७ हिमताल उच्च जोखिममा राखिएको हुँदा जति वेलासमेत फुट्न सक्नेछन्, जसमा नेपालमा मात्र २१ छन् भने चीनमा २५ र भारतमा एउटा छन्। यो अध्ययन सन् २०२० मा सार्वजनिक भएको र हालसम्म अझै बढी जोखिमग्रस्त हिमताल भएको अनुमान गरिन्छ।
हालै, वैज्ञानिक जर्नल Science Direct मा प्रकाशित एक अध्ययनअनुसार, चीन-नेपाल हिमालय क्षेत्रमा मात्र सन् १९९२ देखि २०२२ को बिचमा हिमतालको सङ्ख्या १९.९ प्रतिशतले बढेको र तिनीहरूको कुल क्षेत्रफ़ल २७ प्रतिशतले विस्तार भएको भनिएको छ। सोही अध्ययनले नेपाल-चीन हिमालय क्षेत्रमा ७६ वटा हिमताललाई सम्भावित खतरनाक हिमतालको रूपमा वर्गीकरण गरेको छ। यो सङ्ख्यामाथिको सन् २०२० को प्रतिवेदनभन्दा बढी हो। त्यस्तै, विभिन्न अध्ययनले हिमालय क्षेत्रमा छिटो र धेरै तापक्रम वृद्धि भएको भनिन्छ। यसरी, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने क्रम तीव्र हुँदा नयाँ तालहरू थपिने र पुराना तालहरू बलिया प्राकृतिक बाँधविनै ठुलो हुँदै गएका छन्। हिमताल विस्फोट सीमापार भए तल्लो तटीय भेगमा ठुलो मानवीय र भौतिक क्षति गर्ने र समयमै सूचना नपाएको खण्डमा झन् स्थिति भयावह हुन सक्ने हुन्छ।
नेपाल हिन्दुकुश हिमालय क्षेत्रअन्तर्गतको आठवटा देशको ३५०० किलोमिटरमध्ये झन्डै ८८० किलोमिटर ओगट्छ, जुन सम्पूर्ण हिन्दुकुश क्षेत्रको कुल लम्बाइको २५ प्रतिशत हुन्छ। यसपालि विपतले भयानक क्षति गरेको छ। रसुवा बाढीले पुर्याएको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड लाग्ने अनुमान गरिएको छ। त्रिशूली करिडोरका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ७५८ मेगावाट क्षमताको ऊर्जा उत्पादन ठप्प भएको छ। देशकै ठुलो नुवाकोटको देवीघाटमा रहेको २५ मेगावाटको सोलार प्लान्टसमेत ध्वस्त भएको छ। नवीकरणीय तथा स्वच्छ ऊर्जा खपत गरेका छौँ भनेर खुसी भएका हामीलाई हालैका दिनको बाढीको रूप हेर्दा खासै दिगोपन देखाएको छैन। विभिन्न देशहरूले ट्राभल एड्भाइजरी जारी गरेको हुँदा पर्यटन क्षेत्रमा समेत ठुलो धक्का पुगेको छ।
सन् २०२४ मा नेपालमा आएका राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसले ‘नेपालले आफ्नो एकतिहाइ हिउँ ३० वर्षमै गुमाएको र हिमनदी पग्लिनु भनेको नदीहरूको जलस्तर बढ्नु तथा तिनमा आउने बाढीले सम्पूर्ण बस्तीहरूलाई बगाएर लैजानु हो,’ भनेका थिए । त्यस्तै, ‘हामीले जीवाश्म इन्धनको युग अन्त्य गर्नैपर्छ र जोखिमको अग्रपंक्तिमा रहेका मानिसहरूको रक्षा गर्न अहिले नै कदम चाल्नुपर्छ’ भनेका थिए।’
नेपालमा सन् २०२४ मा सोलुखुम्बुको थामे गाउँमा हिमताल विस्फोट भएर आएको बाढी होस् या सन् २०२५ मै रसुवाकै भोटेकोशीमा तिब्बततिरको हिमताल फुट्दा गरेको विनाश होस् या सन् २०२५ मै हुम्लाको तिलगाउँमा घटेको हिमताल फुटेको घट्ना सबैले हामीलाई चेतावनी दिएकै थियो। त्यस्तै, सन् २०२३ मा सिक्किममा हिमताल विस्फोटपछि आएको बाढीले समेत धेरै धनजनको क्षति गरेको थियो। यसरी, छिमेकका घटनाले समेत हामीलाई पाठ सिकाउनपर्ने थियो, तर हामीले सिकेनौँ।
अहिलेको यत्रो क्षति हुनुमा हाम्रा आफ्नै कमजोरीसमेत छन्। यहाँ जलवायु परिवर्तन मात्र नभएर हाम्रो मानवीय कारणसमेत जिम्मेवार छन्। यसले हाम्रो विकासको मोडलमै पुनर्विचार गर्नुपर्ने टड्कारो आवश्यकता देखाएको छ। खोलाकिनारमा बस्ती बसाउने , हाइड्रोको सपना बुन्ने, सोलार प्लान्टसमेत खोलाकिनारमै बनाउने र विकासका अन्य पूर्वाधारको जोखिम नहेरी विकास गर्ने कार्य घातकसिद्ध भएको छ।
त्यस्तै, पूर्वसूचना प्रणालीमा लगानी, भू-उपग्रहको तस्बिरको महत्त्व र जलाधार तथा भूगोलको निरन्तर निगरानी किन आवश्यक छ भन्ने पुष्टि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघमा आफ्नो सम्बोधनमा भनेजस्तै नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ निर्माण गर्नु अतिआवश्यक छ। त्यस्तै, ‘जलवायुजन्य विपत्ति केवल मानवीय संकट होइन, विकासको आपतकालसमेत भएको’ भनेका थिए, जुन एकदम गहकिलो थियो।
यसपालि सुरक्षा निकायको राम्रो तदारुकता देखिएकै हो। तर सुरक्षा निकायलाई प्रत्येकपटक विपत् आएपछि जोखिमपूर्ण क्षेत्रमा पठाएर मात्र राज्य सुरक्षित हुँदैन। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई समेत हेलिकोप्टरसहित अन्य आवश्यक उपकरण दिनुपर्यो। उनीहरूलाई आवश्यक आधुनिक उपकरण, ड्रोनजस्ता प्रविधि, पूर्वसूचना तथा तालिम, पर्याप्त स्रोत र अन्तरनिकाय समन्वय दिनुसमेत राज्यको जिम्मेवारी हो।
जलवायु परिवर्तन र कार्बन उत्सर्जनमा नगन्य हिस्सा ओगटेको भए तापनि हाम्रा हिमालहरू अस्थिर हुनु, मौसमी चक्र बदलिँनु, नदीहरूको प्रवाह र व्यवहार अनिश्चित हुनु, हिमनदी सुक्दै जानु, हिमाल कालापत्थरमा परिणत हुनु, हिमताल विस्फोट हुनेजस्ता गतिविधिले नेपालमा विपत्ति निम्त्याउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्र नभएर राष्ट्रिय सुरक्षामा समेत चुनौती थपेको छ। त्यस्तै, हिमाल र पहाडमा बस्न दु:ख खेप्नुपर्ने, साथै डर तथा जोखिम हुने भएर जनसंख्या घट्दै जाने र जनसंख्या घट्नासाथ सीमानाका मिचिनबाट सुरक्षित राख्नुपर्ने चुनौतीसमेत हुन्छ। जलावायुजन्य विपतले नेपालको सुरक्षाको परिभाषा परिवर्तन गरिरहेको छ। त्यसैले, भविष्यको सुरक्षा रणनीतिमा जलवायु संकटलाई केन्द्रमा राख्नुपर्छ।
References:-
https://edition.cnn.com/2026/08/26/weather/floods-nepal-cause-vis
https://www3.nhk.or.jp/nhkworld/en/news/20260903_01/
https://clickmandu.com/2026/09/490312.html
https://annapurnapost.com/story/509372/
https://english.nepalnews.com/s/opinion/nepals-climate-disasters-and-the-right-to-be-saved/
https://news.un.org/en/story/2026/09/1168269
https://www.channelnewsasia.com/asia/nepal-flood-glaciers-disaster-cause-6382311
https://www.icimod.org/even-1-5-degrees-is-too-hot-for-our-mountains/
https://www.reuters.com/world/asia-pacific/nepal-turns-drones-deliver-flood-relief-2026-09-09/
https://www.bbc.com/news/world-asia-32483119
https://ekantipur.com/news/2020/09/07/159936187761628283.html
https://www.sciencedirect.com/science/article/pii/S1674927826001620
https://nagariknews.nagariknetwork.com/social-affairs/26037-1337143560.html
https://english.onlinekhabar.com/photo-story-draining-nepals-dangerous-glacier-lake.html
https://www.bbc.com/news/world-asia-36434040
https://www.bbc.com/nepali/articles/clye1vdrv93o
https://nepalkhabar.com/economy/285411-2026-8-31-11-46-44
https://www.icimod.org/press-release/glof-from-thyanbo-glacial-lake-sweeps-away-thame-village/
https://www.ratopati.com/story/587583/in-2025-a-tibetan-glacier-burst-and-flooded-the-bhotekoshi
https://nagariknews.nagariknetwork.com/social-affairs/1476088-1747580017.html
https://www.science.org/doi/10.1126/science.ads2659?referrer=https%3A%2F%2Fwww.google.com%2F
https://youtu.be/bN3gVb__tmA?si=QfYhqLXO2pA5HaW4
https://www.sei.org/features/glacial-lake-outburst-floods-hindu-kush-himalayas/

Author Introduction
Ritesh Panthee is a researcher and writer who has authored over 75 articles for both national and international media outlets. As a foreign media representative for The Diplomat magazine, he covered the "Sagarmatha Sambad" dialogue. He is pursuing a master’s degree in Human Rights and Gender Justice while also practicing as an advocate. With a strong interest in contemporary issues, he focuses on topics such as law, human rights, diplomacy, climate change, and national security.