‘चाँद के पार’को कथा

लेखक: गोविन्द खड्का

फोटो स्रोत: लेखक

डुबानको दुःखले नाउँ बदलियो, गाउँ उस्तै

गाउँको नाम केवल एउटा पहिचान होइन, यो त्यहाँको इतिहास, भूगोल, संस्कृति र बासिन्दाहरूको जीवनशैलीसँग गहिरो रूपमा जोडिएको हुन्छ । खुसीले भरिएका चाडपर्वदेखि नदीको बहावसम्म, गाउँको नामले सबै कुरा बोकेको हुन्छ । तर, कैलालीको धनगढी उपमहानगरपालिकाभित्र एउटा यस्तो गाउँ छ, जसले आफ्नो नामभित्र पहिचान मात्र होइन, सङ्घर्ष र बाँच्नका लागि गरिएको अनवरत प्रयासको कथा बोकेको छ । यो गाउँ हो ‘चाँद के पार’ । एक समय ‘ठुलो ललितपुर’ भनेर चिनिने त्यो गाउँ अहिले नयाँ नामसँगै त्यहाँको विगत्, विस्थापन र साहसको कथा बोकेर बाँचिरहेको छ ।

हरेक वर्षको झरीले केवल पानी ल्याउँदैन, सङ्घर्षका नयाँ पाना खोल्छ । धनगढी–१९ को यो गाउँका बासिन्दाहरूका लागि डुबान एक नियति बनिसकेको छ । जब गाउँको नाम ‘चाँद के पार’ राखियो, त्यसको सन्देश हो–‘हामीले बाँच्नकै लागि यो कठोर बाटो पार गर्नुपर्छ ।’

नाम सुन्दा चन्द्रमा पार गर्ने कुनै रमाइलो कथा झल्किएला, तर यसमा डुबानले थोपरेको पीडा लुकेको छ । 

गाउँ परिवर्तनको कथा

लगातारको बाढी र मोहना नदीको बिस्तारले गाउँ नै बगाएपछि २०५२ सालमा गाउँ नै विस्थापित भयो । विस्थापित भएको एक वर्षपछि ०५३ सालमा २ किलोमिटर पर आई गाउँमा सरकारले विस्थापितका लागि डेढ कट्ठा जग्गा दियो । तर, २०७६ सालमा आएको बाढीबाट नदीले बाटो बदलेपछि विस्थापित भएको २४ वर्षपछि उनीहरू पहिला बसिरहेको त्यही गाउँमा फर्किए । 

गाउँमा फेरि बसाइँसराइ भए पनि समस्या उस्तै रह्यो । हरेक वर्षको बाढीले गाउँलाई डुबानमा पार्ने, खेती बगाउने र जनजीवन अस्तव्यस्त बनाउने क्रम चलिरह्यो । हरेक वर्ष हुने डुबानका वेला गाउँलेहरूका लागि आफ्नो गाउँ पार गरेर आवतजावत गर्न सधैँ हम्मे-हम्मे पर्थ्यो । 

यसरी बाढीको सधैँको सङ्कटले गाँजिरहँदा, गाउँका अगुवा लेखराम डगौराले गाउँको नाम बदले । उनले बाढीले बाँच्नका लागि गरिने सङ्घर्षको प्रतीकस्वरूप गाउँको नाम हरेक वर्ष बाढीको पानी ‘पार गर्ने’ चुनौतीलाई मिल्ने गरी ‘चाँद के पार’ राखे । त्यस गाउँलाई अहिले सबैले ‘चाँद के पार’ भन्छन् । 

लेखराम डगौराको मृत्यु भएको ६ वर्ष भइसक्यो, तर उनले राखेको ‘चाँद के पार’ नामले गाउँलाई नयाँ परिचय दिएको छ । अहिले यही नामबाट गाउँको हिसाबकिताबदेखि सरकारी परिचयसमेत चल्छ । गाउँको नाम पहिले के थियो भन्ने कुरा अब कसैले खासै चासो दिँदैनन् । 

‘चाँद के पार’ नाम राखिनुको कारण सोध्दा स्थानीयवासी थकित मुस्कानसहित भन्छन्, ‘हरेक वर्षजसो वर्षाका कारण हाम्रो यो गाउँ डुबानमा पर्छ हामीले डुङ्गाको सहायताले गाउँ पार गर्नुपर्छ, त्यसैले यो नाम राखिएको हो । डुबानको पानी हाम्रो जीवनको हिस्सा बनिसकेको छ ।’ 

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष बधुराम चौधरीका अनुसार त्यस गाउँका बासिन्दाहरूलाई अरू स्थानमा सर्न सुझाव दिइएको थियो । तर, आफ्नो जमिन, आफ्नो ठाउँ छोड्न चाहेनन् । त्यसको सट्टा उनीहरूले आफ्नो पीडा र सङ्घर्षलाई समेट्दै गाउँको नाम नै ‘चाँद के पार’ राखे । 

फोटो स्रोत: लेखक

नामको प्रतीकात्मक अर्थ

‘चाँद’ अर्थात् चन्द्रमा । शान्ति, प्रकाश र आशाको प्रतीक । तर, धनगढी–१९ को यो गाउँका लागि ‘चाँद’ कुनै सपनाको उज्यालो होइन । यो सङ्घर्षको प्रतीक हो । बाढी र डुबानले भरिएको जीवनमा ‘पार गर्नुपर्ने’ बाधाहरूको प्रतिनिधित्व हो ।

स्थानीय युवा राम डगौराले भने, ‘हामीलाई यो नामले हाम्रो वास्तविकता सम्झाउँछ । यहाँ बाँच्न सङ्घर्ष छ, तर हाम्रो साहस र आत्मविश्वास पनि झल्काइरहेको छ ।’ उनले थपे, ‘चाँद के पार’ गाउँमा ४५ परिवार छन् । तीन सय जनसङ्ख्या छ । २०५२ सालमा पुर्नवास कार्यक्रमअन्तर्गत सरकारले दिएको डेढ कट्ठा जमिन छ । परिवार बढ्दै जाँदा आई (गाउँको नाम) गाउँमा रहेको त्यो जमिनमा खुट्टा टेक्न मात्रै पुग्ने भएपछि उनीहरू दक्षिण ललितपुरको अग्लो भागमा लहरै घर बनाएर बसेका छन् । उपमहानगरभित्र भए पनि शिक्षा, स्वास्थ्य खानेपानीको पहुँचबाट टाढा छन् । बी.ए. पास गरेको एकजना पनि छैन । जम्मा तीन युवा पढ्दै छन् । कृषिखेतीमा आश्रित त्यो गाउँमा पुरुष मौसमी रूपमा कमाउन कोही सहर, कोही भारत पस्छन् । महिलाले घर चलाएका छन् । 

डुबान समस्या समाधान नहुँदा पीडा बढ्दै

त्यस गाउँका नजिकै बालुवाटार भन्ने ठाउँ पनि छ । राजधानीमा प्रधानमन्त्री बस्ने ठाउँसँग मिल्दो त्यो ठाउँ नदीले बगाएर थुप्रिएको बालुवाबाट बनेको छ । यो सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीकै हिस्सा पनि हो । तर, सरकारको ध्यान गाउँको अवस्थाप्रति पुगेको छैन । बर्सेनि डुबानले गर्दा हुने जनधनको क्षति रोक्न पहल नगरेको गुनासो स्थानीयहरूको छ । बाढी व्यवस्थापनका लागि बाँध निर्माण र उचित निकासको व्यवस्था गर्न नसक्दा समस्या झनै बढिरहेको स्थानीय सुनीता चौधरीले बताइन् । 

‘जमिनजति नदीले खाइसक्यो, अब त माटो जोगाउने चिन्तामा छौ । माटो नै नरहे, हामी कहाँ रहुँला ?’ गहभरी आँसु पार्दै सुनिताले भनिन्, ‘मोहना नदीले बर्सेनि खेतबारी र बस्ती बगाउँछ । माटो रहे पो अरू सम्भव छ, तर माटो नै सकिए के गर्ने ?’ 

स्थानीय नेताहरूले चुनावका वेला थुप्रै आश्वासन दिए पनि अहिलेसम्म ठोस कदम उठाइएको छैन । बाढीपछि आउने महामारीको डर र पुनर्स्थापनाको झन्झटले गाउँलेहरूको जीवन झन् कठिन बनाएको छ ।

बदलियो नाम कहिले बदलिने ठाउँ ?

‘चाँद के पार’ नामको यो गाउँ आज दुःख, सङ्घर्ष र पीडाको प्रतीक बनेको छ । नाम परिवर्तनले बाँच्नका लागि गरिने सङ्घर्षको कथा बयान गरेको छ, तर डुबानको समस्या समाधानका लागि स्थानीय बासिन्दाहरू अझै राज्यको आशामा छन् । गाउँमा पुग्ने नेताहरूसँग उनीहरू सबैको एउटै प्रश्न हुन्छ ‘नदीमा बाँध कहिले बन्छ ? हाम्रो गाउँको नाममा लुकेको पीडा अन्त्य भएर चन्द्रमा जस्तै शान्त जीवन कहिले आउछ ?’ गएको मंसिर २७ गते गाउँ पुगेको सङ्घीय संसद् र प्रदेश सभाको टोलीसँग पनि उनीहरूले बाँधकै माग गरेका थिए ।  

चाँद, अर्थात् चन्द्रमा–शान्ति र सौन्दर्यको प्रतीक हो । तर, कैलालीको ‘चाँद के पार’ गाउँका लागि यो नाम शान्तिको होइन, सङ्घर्षको बयान हो । डुबानको त्रासदी र पार गर्नुपर्ने कठिनाइले यो गाउँलाई एउटा प्रतीकात्मक कथा बनाएको छ ।

person standing

Author Introduction

Govinda Khadka is a seasoned media professional with extensive experience across radio, television, online, and print platforms. He served as News Chief for seven years at South Asia's largest radio network, CIN, and also held the position of Executive Director at Nepal FM Network, Nepal’s first radio network. Over the past five years, he has bridged public concerns with federal and provincial parliaments through over 100 policy debates and raised more than 500 civic issues via media platforms. Having reported from over 60 districts and on international peace missions such as South Sudan, his travels include China, Japan, India, and Sri Lanka. He has trained over 300 individuals in radio journalism and was part of the media team during Prime Minister Baburam Bhattarai’s visit to India. Rooted in Nepal’s Far-Western region, his firsthand experience of poverty and discrimination fuels his dedication to social change.

The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Governance Monitoring Centre Nepal and/or Centre for Social Change.