व्यापार घाटाले बन्द हुँदै छन् साना उद्योग

लेखक : दीपक बोहरा । दाङ

Image create using AI

दाङको घोराहीमा रहेको गौतम पोल्टी फर्म केही वर्ष राम्रो चल्यो । तर, जब कोरोनाका कारणले लकडाउन भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो । फर्ममा करिब डेढ करोड लगानी लागेको थियो । तर, कोरोनाले गर्दा त्यो लगानी नउठेपछि अहिले बन्दै गर्नुपर्ने अवस्था आएको सञ्चालक लीलाधर पाठकले बताए । ‘३/४ वर्ष राम्रै चल्यो,’ उनले भने, ‘जब कोरोना सुरु भयो त्यसपछि घाटाको घाटा भयो, त्यही भएर अहिले बन्दै गर्नुपर्ने अवस्थामा पुग्यो ।’ २०७० सालमा उक्त फर्म स्थापना गरेर दानाको काम गर्दै आएको उनले बताए ।

त्यस्तै, पाल्पाका श्याम घर्तीले पनि ३/४ वर्षजति चलाएको रेस्टुरेन्ट बन्द गरे । रैनादेवी छहरा–३ मा रेस्टुरेन्ट सञ्चालन गरेका उनले रेस्टुरेन्टबाट घाटा भएपछि त्यो बेचेर किराना पसल मात्रै चलाएका छन् । ‘पहिले जस्तो व्यापार छैन,’ उनले भने, ‘त्यसैले अब बन्द गर्ने अवस्थामा पुगियो ।’ उनले पनि रेस्टुरेन्टमा गरेको लगानीसमेत उठाउन सकेनन् । रेस्टुरेन्टमा ५/७ लाख लगानी गरेका थिए ।

त्यस्तै, दाङ घोराहीकै गीता थापाले लोकल जातका कुखुरा पालन गरेकी थिइन् भने तरकारी खेती पनि गरेकी थिइन् । चार वर्षअघि उनले घरेलुमा व्यवसाय दर्ता गरेर पनि चलाइन् । तर, पछिल्लो समय उनलाई कर तिर्नेसमेत पैसा नभएपछि फर्म बन्द गर्न बाध्य भइन् । ‘६ वर्षअघिदेखि कुखुरा पालन र तरकारी खेती गर्दै आएकी थिएँ । तर, चार वर्षअघि मात्रै दर्ता भएर चलाएकी हुँ,’ उनले भनिन्, ‘अहिले मलाई कर तिर्नै धौ धौ भएर फर्म बन्द गरिदिएँ ।’ कर कार्यालयमा ७ हजार पाँच सय र वडा कार्यालयमा दुई हजार दुई सय रुपैयाँसम्म तिर्न सक्ने अवस्था नभएपछि आफूले फर्म बन्द गरेको उनको भनाइ छ । फर्म बन्द गरेको भए पनि आफ्नो व्यवसाय भने गरिरहेको उनी बताउँछिन् । ‘फर्म बन्द गरेँ, पहिले कमाइ पनि राम्रै हुन्थ्यो, अहिले चल्ला जोगाउन पनि सकिँदैन, बिक्री पनि त्यस्तो छैन,’ उनले भनिन्, ‘त्यसले गर्दा पहिले जस्तो कमाइ पनि गर्न नसकेकाले फर्म बन्द गरेकी हुँ।’ 

यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय व्यापार घाटा भएकै कारण घरेलु तथा साना उद्योगहरू बन्द हुने क्रम बढिरहेको छ । लुम्बिनी प्रदेशमा एक वर्षमा ४ हजार उद्योग बन्द भएका छन् । 

लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका ४ हजार ५२ उद्योग बन्द भएका छन्, जसमा वाणिज्यतर्फ एक हजार ९ सय ३३ र उद्योगतर्फ २ हजार एक सय १९ घरेलु तथा साना उद्योग बन्द भएको निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए । सबैभन्दा बढी दाङका ८ सय ७६ उद्योग बन्द भएका छन् भने सबैभन्दा कम रुकुम पूर्व र अर्घाखाँचीका ५२/५२ उद्योग बन्द भएका छन् । 

लुम्बिनीमा एक वर्षमा बन्द भएका र थपिएका उद्योगको संख्या :

क्रस जिल्ला बन्द भएका उद्योग थपिएका उद्योग
दाङ
११०९
बाँके
७४२
११७७
रुपन्देही
४०२
२१२६
बर्दिया
३६५
५२६
पाल्पा
३६३
१८८
कपिलवस्तु
३४०
७५८
गुल्मी
३४३
१३६
नवलपरासी
२५७
९३७
रोल्पा
१७४
१२९
१०
प्युठान
८३
८३
११
अर्घाखाँची
५२
९०
१२
रुकुम पूर्व
५२
१०२

स्रोतः लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

‘दर्ता घट्न थाले, बन्द हुने बढे’

पछिल्लो समय लुम्बिनीमा दर्ता हुनेभन्दा बढी बन्द हुने उद्योगहरू बढ्न थालेका छन् । विगतमा बन्द हुने अत्यन्तै न्यून हुने गरेको भए पनि गत आर्थिक वर्षदेखि विगतको तुलनामा बन्द हुने बढी र दर्ता हुने न्यून हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले बताए । कोरोनापछि व्यापार व्यवसाय धरापमै रहेकाले पनि पछिल्लो समय साना उद्योगहरू बन्द हुने क्रम बढेको उनको भनाइ छ । ‘कोरोनापछि मुलुकमा आर्थिक मन्दी छ, व्यापार घाटा छ,’ उनले भने, ‘त्यसले गर्दा पनि उद्योगहरू बन्द भइरहेको अवस्था छ ।’ 

उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योगहरू बन्द भइरहेको उनको भनाइ छ । उत्पादनमूलक उद्योगमा कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरू छन् । त्यस्तै, कृषि तथा वनपैदावार उद्योगमा कृषि वा वनपैदावारमा आधारित कच्चा पदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वनपैदावारमा आधारित उद्योगहरू तथा ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न ऊर्जामूलक उद्योगहरू पनि बन्द भइरहेका छन् ।

ढुङ्गा, गिटी, बालुवासम्बन्धी काम गर्ने उद्योगहरू, पर्यटन सेवासँग सम्बन्धित उद्योगहरू तथा सूचना संकलन प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना, सञ्चार वा सूचना प्रविधिको सेवा उपलब्ध गराउने उद्योगहरू बन्द भइरहेका छन् । व्यवसाय नचलेको भन्दै यसरी बन्द गर्न आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले बताए । ‘बन्द गर्न आउँदा धेरैलाई हामी कारण सोध्छौँ,’ उनले भने, ‘ती सबैले व्यापार घाटा भएकाले बन्द गरेको जवाफ दिनुहुन्छ ।’ अधिकांश युवा विदेश पलायन हुने तथा आर्थिक मन्दीले गर्दा त्यसको मार व्यापार, व्यवसायमा पर्ने गरेको उनको भनाइ छ ।

सानो जिल्ला रहेको रुकुम पूर्वमा समेत उद्योग बन्द गर्न भन्दै दैनिक २/३ जना आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका सूचना अधिकारी सन्तोष मल्लले बताए । उनका अनुसार केहीले कार्यालयमै आएर उद्योग बन्द गर्ने गरेको भए पनि केहीले भने उद्योग बन्द मात्रै गरेका छन् । त्यसले गर्दा उद्योग बन्द हुनेको सङ्ख्या अझ धेरै हुन सक्ने उनले बताए । उत्पादनले मूल्य नपाउने, बिक्रीसमेत नहुने जस्ता कुराले पहाडी क्षेत्रको व्यवसायमा असर गरेको उनको भनाइ छ । 

उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै

उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै जाने गरेको छ । त्यसले थप बेरोजगारी बढाउने गरेको लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए । उनका अनुसार करिब १२ हजार बढीको रोजगारी गुमेको छ । लुम्बिनीमा गएको वर्ष मात्रै पाँच हजार तीन सय ६१ नयाँ उद्योग थपिएका थिए । जसबाट १५ हजार दुई सय चार जनाले रोजगारी पाएका छन् । यही अनुपातलाई हेर्दा बन्द भएका उद्योगबाट प्रदेशमा १२ हजार बढीको रोजगारी गुमेको छ । ‘उद्योग बन्द हुँदा प्रत्यक्ष रूपमा रोजगारमा पनि असर गर्छ,’ उनले भने, ‘उद्योग बन्द हुँदा बेरोजगारको सङ्ख्या पनि थपिँदै जाने हो ।’ 

गएको वर्ष उद्योगरव्यवसायबाट आठ करोड ८० लाख ३९ हजार आठ सय ६६ रुपैयाँ राजस्व संकलन भएको थियो । नयाँ उद्योग दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ चार करोड २३ लाख १२ हजार ६ सय ६६ रुपैयाँ र वाणिज्यतर्फ चार करोड ५७ लाख २७ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको छ । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा १५ अर्बभन्दा बढी लगानी थप भएको छ । लुम्बिनीका १२ जिल्लामा रहेका उद्योग व्यवसायमा १५ अर्ब ११ करोड ५५ लाख ५४ हजार ७४ रुपैयाँ लगानी थपिएको हो । साना व्यवसायीलाई तीनै तहका सरकारले प्रोत्साहन गर्ने नीति नल्याउनुले पनि बन्द हुने अवस्थामा पुगेको घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले बताए । साना व्यवसायीहरूमा हुने थुप्रै चुनौतीलाई समाधान गर्न सरकार गम्भीर नहुँदा नै अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘झन्झटिलो कर प्रणाली, आयातीत वस्तुले स्थानीय उत्पादनलाई विस्थापित गर्नु जस्ता कारणले साना उद्योगहरू चल्न सकेका छैनन्,’ उनले भने, ‘भाडा तिर्न सक्नेसमेत अवस्था छैन, त्यसैले बन्द हुने अवस्थामा छन् ।’

‘ठुला उद्योग पनि मारमै छन्’

साना उद्योग मात्रै होइन ठुला उद्योगहरूको अवस्था पनि त्यस्तै छ ।  तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामप्रसाद चालिसेले ठुला व्यवसायीहरू पनि मारमा परेको बताए । उनले ४र५ वर्षअघि जुन व्यापार हुन्थ्यो, त्यस्तो व्यापार अहिले नहुने गरेको बताए । ‘सबै व्यवसायी मारमा छन्, खासगरी कोरोनापछि यो समस्या देखिएको छ,’ उनले भने, ‘व्यवसाय नहुँदा यसरी बन्द हुने क्रम बढेको हो ।’

पछिल्लो समय व्यवसायीहरू भाडासमेत तिर्न सक्ने अवस्थामा नभएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । धेरै व्यवसायी पलायन भइरहेका र यही अवस्था केही समय रहेमा पलायन हुनेको संख्या अझै बढ्ने पनि उनले बताए । सरकार उद्योगीहरूलाई प्रोत्साहन गर्नेभन्दा पनि कमजोर बनाउनेतिर लागेको भन्दै यसले व्यवसाय क्षेत्र धराशायी बन्ने गरेको उनको भनाइ छ ।

व्यवसाय बन्द हुनु भनेको आर्थिक गतिविधि कम हुनु भएको भन्दै आर्थिक रूपमा सबल बनाउनका लागि साना उद्योगहरू चलाउनुपर्ने उनको भनाइ छ । अर्कोतर्फ सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्ने, व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्नेजस्ता कार्यमा सरकार गम्भीर हुनुपर्ने पनि उनको भनाइ छ ।

लेखक परिचय

दीपक बोहरा, विगत एक दशकदेखि दाङमा रहेर खोज पत्रकारितामा क्रियाशील हुनुहुन्छ । हाल दाङमा अग्रिम साप्ताहिक र लाइभ दाङ डटकमका सञ्चालक तथा नयाँ पत्रिका र राससमा रिपोर्टिङ गर्नुहुन्छ ।

The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Governance Monitoring Centre Nepal and/or Centre for Social Change.