लेखक : कालीबहादुर थापा । हुम्ला
पछिल्लो समय सडक नपुगेका गाउँबस्ती पनि बिरलै भेटिएलान् । एक दशकअगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहे जस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाहीँ सामान ओसारपसार गर्ने गरिरहन्छन् ।
गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक पद्धतिबाट बनेका छैनन् । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी आ–आफ्नो प्रचार र स्वार्थका निम्ति जथाभावी आँखाले देखेजति र सम्भव भएसम्म सडक बनेको देखिन्छ । जहाँ डोजरचालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । विनाइन्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन्, तर बर्खामा पूर्ण रूपमा ठप्प हुन्छन् । त्यतिवेला सडक ठप्प मात्र नभई बजारमा सामग्रीको अभावले बजारभाउ गरिबको ढाड सेक्ने गरी अकासिन्छ । त्यति मात्र नभई बाढीपहिरोको पनि जोखिम बढ्दै गएको छ । आकाशमा बादल मडारिनेबित्तिकै यहाँका मानिसहरूलाई कतिखेर कहाँबाट बाढीपहिरो आउने हो र आफ्नो घरजग्गा बगाएर सुकुमवासी जस्तै बनाउने हो भन्ने चिन्ता पनि त्यत्तिकै छ ।
यस किसिमका सडक निर्माणले गाउँबस्ती मात्र नभई पर्यावरणको समेत ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडिदिएको छ । हुम्लालगायत दुर्गमका थुप्रै गाउँबस्तीहरू पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्नासाथ उनीहरू घर छोडेर टाढा खर्कपात (खुला ठाउँ)मा जानुपर्ने अवस्था छ ।
गाउँ–गाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पार्यो नै त्यससँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर, हिजोआज ती सम्पदा देख्न पाइँदैन ।
विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्त्वपूर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । पहिले भरियाको काम गर्ने समयमा बोकिने भारी बिसाउने ठाउँ छैन, भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको देखिन्छ ।
वि.सं. २०६७/०६८ सालतिर साबिकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णालीको चिसापानीबाट निरन्तर ७ दिन नागरिकले हिँड्नुपर्ने हुन्थ्यो । त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरू थिए । पाटीपौवा, पानीका मुहान आदि थिए । अहिले ती सबै हराएका छन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोट्याइदियो र सँगै मौलिक सम्पदाको पहिचान पनि मेटाइदियो ।
त्यति मात्र होइन हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे । सडक निर्माणका क्रममा ती सबै पुरिए । अहिले केही मात्रामा देखिए पनि पहिले जस्तो देखिँदैनन् ।
गाउँ–गाउँबाट एकै दिनमा सदरमुकाम जान–आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटेल नहुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली– १ का ६६ वर्षीय धनमल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापनी बजार जाने र त्यहाँबाट ठेटुवालगायतका लत्ताकपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भएमा थोरै समयमै आउन सकिने उनको भनाइ छ ।
गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाम नै जानुपरेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी लागेको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नेतर्फ कसैको ध्यान नगएकोप्रति भने उनको गुनासो छ ।
मौलिक सम्पदाहरूको संरक्षण नभएको भन्दै पछिल्लो समय त्यो पहिचान सङ्कटमा पर्दै गएको थापाको भनाइ छ । गाउँ–गाउँमा सडक आए पनि नागरिकले चाहेको वेला चढ्न नपाउनाले सुविधा नभएको अर्का वयोवृद्ध प्रदीप महताराको भनाइ छ । उनले भने, ‘गाउँमा सडक आयो, धेरै राम्रो भयो । हामीहरूले धेरै दुःख पाएका थियौँ,यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ । तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन । हाम्रा पालामा वरपिपल रोप्ने, चौतारी बनाउने, धर्मशाला, पाटीपौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ उनले भने, ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिँदैनन् । उति वेला हामीहरूले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटीपौवाको प्रयोग टाढा जानुपर्दा हुन्थ्यो । अहिलेको जस्तो गाडी हुँदैनथ्यो । हिँडेरै पुग्नुपर्थ्यो । बास बस्नका लागि होटेल हुँदैनथ्यो । त्यही पाटीपौवामा बस्नुपर्थ्यो, अहिले त होटेल बने । विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपर्थ्यो ।’ अदानचुली– १ का रूपचन्द्र थापाले भने बाटोमा वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर वरपिपल लगाउने गर्दथे र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँ पुस्तामा त्यो सोच नै नभएको उनको भनाइ छ ।
बाटोघाटोमा पुराना कलात्मक र ऐतिहासिक ढुङ्गाहरू बनाउने प्रचलन थियो । राखिएका पनि थिए तर अहिले सडक काट्दा खेरी तिनीहरूलाई संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।
उनी भन्छन्, ‘अहिलेको पुस्तालाई विकास चाहिएको छ, घर–घरमा सडक चाहियो । धारा चाहियो, सबैथोक चाहियो । तर सार्वजनिक ठाउँमा भएका कुरा सबै विनाश गर्ने परिपाटी भयो । वरपिपल लगाउनु त राम्रो कुरा हो नि । पाटीपौवा पनि राम्रो हो । मान्छे स्वार्थी बने । धर्मकर्म मान्न छोडे । विकासका नाममा सबै विनाश गर्न थाले । हामीले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्यौँ । ढुङ्गे धारा बनायौँ । अहिले त सबै भत्काइदिए ।’ सबैलाई घरछेउ बाटो चाहिएको हुनाले सक्ने ठूलाले आफ्नो घरमा बाटो पुर्याउनका लागि अन्यको जग्गा मिचेको । प्राविधिकसँग मिलेर आफ्नो घरछेउ बाटो लगेको अवस्था छ ।
आधुनिकतालाई अगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको भए पनि अहिलेका नयाँ पुस्ता र स्थानीय सरकारले त्यस्ता परम्परागत कुराहरूको मर्मत सम्भार गर्नेतर्फ ध्यान नदिएको हरेक गाउँ–गाउँका स्थानीय नागरिकहरूको गुनासो छ ।
उनीहरूले आफ्नो नामका लागि भए पनि हरेक गाउँ–गाउँमा प्राविधिक स्टमेटविनै सडक काट्ने तर त्यहाँ भएका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षणमा ध्यान नदिने, गरिब पीडितहरूको जग्गा–जमिनको वास्ता नगर्ने, यसले पछि पार्ने नकारात्मक प्रभावहरूको मूल्याङ्कन नगरी मनपरी तरिकाले सडक काटेपछि अहिले हरेक गाउँबस्तीहरू मरुभूमि बन्न थालेका छन् । पहिरोको जोखिममा छन् । स्थानीय सरकारले गाउँका प्रायः सडकहरू वातावरणीय प्रभाव मूल्याङ्कनविनै डोजरद्वारा खनिएका सडकहरू पछिल्लो समय डिजास्टरमा परिणत हुन थालेको देखिन्छ । अहिले हामी जता हेर्दा पनि पहिरो र भूक्षय मात्र गएको देख्छौँ । जताततै बाढी र पहिरोबाट यति मरे, यति घाइते भए भन्ने खबर मात्र सुन्छौँ । यसको मुख्य कारण हो, अनियन्त्रित तरिकाले सडक निर्माण गर्नु । प्राविधिक डिजाइन,स्टिमेटलाई भन्दा आँखाको हेराइका आधारमा आ–आफ्नो नामको लागि तथा चुनावमा मत बटुल्न बनाइने सडकले विकास होइन, विनाशलाई बढावा दिएको देखिन्छ । त्यसकारण यसलाई रोक्नका लागि समयमै ख्याल गरी सडक निर्माण गर्न जरुरी छ ।
त्यति मात्र नभई यस किसिमको अव्यावहारिक तरिकाले सडक खनिनुले डिजास्टर मात्र निम्त्याएको छैन । झन् मानिसलाई गरिब बनाउँदै गएको छ । हरेक स्थानीय तहमा करोडौँको बजेट आउँछ, तर सबै बजेट डोजर मालिकको हातमा जान्छ । मानौँ, हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ मा मात्र विभिन्न शीर्षकका गरी सडक निर्माणमा मात्र करिब डेढ करोड रुपैयाँ छ । तर नागरिकको हातमा पैसा जाने स्थिति छैन । सबै ठेकेदारहरूले डोजर ल्याएर कोही सडक काटिरहेका छन् त कोही काट्न तयार भएर बसेका छन् । त्यस्तै, वडा नम्बर २ मा पनि संघीय र प्रदेश सरकारले गरी करिब डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमा पनि नागरिकले पाउने स्थिति छैन । किनकि सबै डोजर मालिकहरूले ठेक्का लिएका छन् ।
गएको वर्ष हुम्लाको अदानचुली गाउँपालिकामा मात्र करिब १ हजारभन्दा धेरै नागरिक कामको खोजीमा छिमेकी मुलुक भारत गए । उनीहरू सबैको भनाइ थियो कि हाम्रो सरकारले काम दिएन । काम जति छ, त्यो सबै डोजरवालालाई मात्र छ । उनीहरू प्रत्येकले नेपालगन्ज, सुर्खेत र काठमाडौँ जस्ता सहरमा घर बनाएर बसेका छन् भने हामीलाई काम नदिएर बिदेसिन बाध्य पारिएको छ ।
यति वेला अधिकांश बजेट सडकमै छ । सडकमा हामी नागरिकले काम गर्न पाउँदैनौँ । नागरिकको हातमा पैसा नगएपछि बजारसमेत चलायमान भएन । फलस्वरूप बजार व्यवसायीले उधारोसमेत पत्याउन छोडे । अनि हामी बाध्य भएर घरपरिवारलाई छोडेर बिदेसिन बाध्य भयौँ ।
The views and opinions expressed in the piece above are solely those of the original author(s) and contributor(s). They do not necessarily represent the views of Governance Monitoring Centre Nepal and/or Centre for Social Change.
लेखक परिचय: कालीबहादुर थापा हुम्ला जस्तो दुर्गम जिल्लामा बसेर कलम चलाउनुहुन्छ । हुम्ला जिल्लामा बसेर मानव अधिकार र पत्रकारिता क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ । झन्डै एक दशकदेखि थापाले समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ । मानव अधिकार, सुशासन र समसामयिक विषय उहाँका रोजाइका विषय हुन् ।